images

घोराहीस्थित प्लाई उद्योगमा आगलागी, अझै नियन्त्रणमा आएन

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका– ९ खैरामा रहेको प्लाई उद्योगमा आगलागी भएको छ ।

खैरामा रहेको सांग्रीला प्लाई उद्योगमा विद्युत सट भएर आगलागी भएको हो । आगलागीका कारण प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने मेसिनलगायतका सामग्री जलेर नस्ट भएको छ । उद्योगमा आगलागी राति करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन । आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन । उद्योगमा लागेको आगो ठूलो भएका कारण घोराही र तुलसीपुर उपमहानगरपालिकाबाट दमकल आएपनि नियन्त्रणमा ल्याउन नसकिएको प्रहरीले जानकारी दिएको छ ।

उद्योग आसपासका बस्ती पनि आगलागीको जोखिममा छन् । आगो नियन्त्रणका लागि आसपासका जिल्लाबाट दमकल मगाउने तयारी भइरहेको छ । उद्योगमा लागेको आगलागीकाबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।