images

अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं–टी–२० विश्वकपमा अफगानिस्तान सेमिफाइलनमा पुगेको छ । मंगलबार भएको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई डिलएस मेथडबाट हराउँदै सेमिफाइनलमा पुगेको हो । अफगानिस्तानको यो जितले अष्ट्रेलिया भने विश्वकपबाट बाहिरिएको छ ।

टी–२० विश्वकप २०२४ को सुपर–८ मा बङ्गलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेसँगै अस्ट्रेलिया सुपर–८ बाटै बाहिरिएको छ । बङ्गलादेश र अफगानिस्तानबिच भएको खेलमा बङ्गलादेशले खेल जितेको भए अष्ट्रेलिया प्वाइन्ट टेबलका हिसाबले सेमिफाइनलमा पुग्थ्यो ।

यो खेलसँगै सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । सुपर–८ को समूह १ बाट इन्डिया र अफगानिस्तान तथा समूह २ बाट साउथ अफ्रिका र इंग्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।

तर अफगानिस्तानले उक्त खेल जितेसँगै तालिकामा ४ अङ्क जोड्दै सेमिफाइनलमा पुगेको हो । अष्ट्रेलिया भारतसँग पराजित भएपछि तालिकामा २ अङ्क राखेको थियो । भारसँग पराजित भएपछि अष्ट्रेलियालाई अफगानिस्तानको हारको खोजी थियो । तर अफगानिस्तानले खेल जितेपछि अष्ट्रेलिया बाहिरिएको छ ।
११६ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो ।

बङ्गलादेशका ओपनर लिटन दासले ५०, तौहिद हृदयले १४ र सौम्य सरकारले १० रन बनाए । अन्य चलेनन् ।अफगानिस्तानको जितका लागि कप्तान राशिद खान र नवीन उल हकले ४र४ र फजलहक फारुकी र गुलबदिन नाबी एक÷एक विकेट लिए । यसअघि सेन्ट भिन्सेन्टको किङटाउनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ११५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले ४३, कप्तान राशिद खानले १९, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन जोडे ।बङ्गलादेशका रिशाद होसैनले तीन तथा तस्किन अहमेद र मुस्ताफिर रहमानले एक÷एक विकेट लिए ।