images
images

असारे-विकास: किन वर्षको अन्त्यमा गरिन्छन् धमाधम खर्च ?

काठमाडौं– नेपालमा असार मसान्तमा आर्थिक वर्ष सकिन्छ । सोहीअनुसार सरकारको वार्षिक बजेट १ साउनदेखि नै कार्यान्वयनमा जान्छ । तर, सुरुवाती महिनामा बजेटको कार्यान्वयन भने निकै सुस्त हुने गर्छ ।

फलस्वरूप नेपालमा हरेक वर्ष आर्थिक वर्षको अन्तिम समयमा खर्च बढी हुने प्रवृत्ति छ । विनियोजित विकास बजेट अर्थात् पुँजीगत खर्चमा प्रगति देखाउन हतार हतारमा गरिने असारे विकासको काममा गुणस्तरीयतामाथि प्रश्न चिह्न खडा हुँदै आएको छ ।

कृषि प्रधान देश नेपाल विशेष गरी असारमा किसानहरूलाई खेतीपाती गर्ने हतार हुनुपर्ने ठाउँमा विकासका आयोजनाहरू धमाधम हुने गरेका छन् । असार महिनामा झरी र वर्षा हुने भएकाले किसाहरुलाई खेतीपाती र रोपाई गर्ने सहज हुन्छ । तर, नेपालमा वर्ष भरी विकासका आयोजनाहरू ठप्प राखेर अन्तिम महिना असारे विकास भन्दै निर्माण कम्पनी तथा ठेकेदारहरू लागि परेका हुन्छन् ।

वर्षा र बाढी पहिरोले गर्दा बनाएका संरचनाहरू त नरहने असारमा विकास निर्माणाधीन आयोजनाहरू कसरी सम्भव होला भन्ने प्रश्न आम जनचासोको विषय बनेको छ । यतिखेर देशभरि जताततै विकासका कामहरूले तीव्रता पाएको छ । विशेष गरी सडक, सिँचाइ, कल्भर्ट, तटबन्ध र भवन निर्माणका काम यतिखेर निकै जोडतोडका साथ भइरहेको देख्न सकिन्छ ।

आवागमनलाई नै अवरुद्ध पारेर सडकमै सडक निर्माणको काम भइरहेका हुन्छन्। असारे विकास र यसले गर्ने असरका बारेमा पूर्वाधारविद् डा। गोविन्द पोखरेलले हाम्रो देशमा हरेक वर्ष किन असार लागेपछि मात्रै विकासको कामले तीव्रता पाउँछ भन्ने प्रश्नको उचित जवाफ पाउन नसकिने बताए ।

उनले असारे विकासका नाममा आर्थिक अनियमितता अथवा भ्रष्टाचारको गन्ध भने आउने गरेको बताएका छन् । यसो त नेपालको सुस्त कर्मचारीतन्त्र र झन्झटिलो प्रक्रियाले गर्दा बजेट स्वीकृत भएर आउन समय लाग्ने हुँदा विकासको काममा सधैँ समस्या हुने गरेको उनको भनाई छ ।

बर्खे झरीमा गरेको विकास दिगो नहुने उनको भनाई छ । असार लागेपछि नै काममा हतारिने प्रवृत्तिले राज्यको ढुकुटी मात्र सकाप हुने गरेको उनको भनाई छ । असारअघि कालोपत्रे गरिएको सडक असारपछि नै हिलाम्मे खेतमा परिणत हुने विकासले कहिल्यै दिगो विकासलाई सघाउँदैन र यस्तो असारे विकासबाट कहिल्यै दिगो विकासको अपेक्षा हुन नसक्ने उनको भनाई छ ।

संविधानमा जेठ १५ मा सङ्घीय सरकारको बजेट घोषणा गर्ने प्रावधान त राखियो, तर आर्थिक वर्ष भने श्रावणदेखि असार नै कायम गरियो । यसलाई परिवर्तन गर्न नसक्दा आर्थिक वर्षको अन्तमा बजेट सक्ने नाउँमा असारे विकासले प्राथमिकता पाइरहेको छ । जसबाट विकास होइन देखावटी रूपमा बजेटको उपयोग गरी रहेका छन् । जबसम्म असारे विकास पद्धतिलाई परिवर्तन गर्ने सकिँदैन तबसम्म विकासमा दिगोपन देख्न मुस्किल छ ।