काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले आज पहिलो विजेता पाउने भएको छ । एनपीएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन् ।
दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छन् । उपाधि महाभिडन्त मध्याह्न साढे १२ बजे शुरू हुनेछ । सुदूरपश्चिमसामु आफ्नो चिरप्रतिद्वन्द्वीमाथि जितको ह्याट्रिक गरेर उपाधि जित्ने अवसर छ भने जनकपुरसामु दुई हारको मीठो बदला लिएर उपाधि उचाल्ने अवसर छ ।
उपाधिका लागि भिड्नु अघिल्लो दिन दुवै टोलीका कप्तानले पहिलो संस्करणको उपाधि जितेर इतिहास रच्ने योजनामा रहेका बताए । फाइनल खेलको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले मैदानमा शत प्रतिशत योगदान दिने र उपाधि जित्ने विश्वास व्यक्त गरे ।
यस्तै, जनकपुरका कप्तान आशिफ शेखले पनि फाइनल खेलमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले आफूसँग जे जति छ, त्यो मैदानमा दिने दाबी गर्दै उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
सुदूरले लिग चरणमा खेलेका सातमध्ये ६ खेल जितेको थियो भने चितवन राइनोजसँग मात्र पराजित भएको थियो । जनकपुरले लिग चरणमा चितवनसहित सुदूरपश्चिमसँग पनि हार व्यहोरेको थियो । जनकपुरले लिग चरणमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा रहेको थियो।
एनपीएलमा जनकपुर र सुदूरपश्चिम तेस्रो पटक भिड्न लागेका हुन् । यसअघि नै दुई पटक यी टोलीबीच खेल भइसकेको छ । जनकपुर दुई पटक सुदूरपश्चिमसँग पराजित भएको थियो।
पहिलो क्वालिफायरमा जनकपुर सुदूरपश्चिमसँगै पराजित भएको थियो । दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराएर जनकपुर फाइनल पुगेको हो ।
जनकपुरले सुदूरपश्चिम विरुद्धकै खेलमा एनपिएलकै खराब ब्याटिङको कीर्तिमानमा बनाएको थियो । १२४ रनको लक्ष्य पछ्याएको जनकपुरले सुदूरपश्चिमविरुद्ध पूरै ओभर पनि क्रिजमा टिक्न सकेन । ८ ओभरअघि नै जम्मा ५१ रनमा अलआउट भएको थियो ।
आठ टीम सहभागी प्रतियोगितामा कर्णाली याक्स तेस्रो भएको थियो । चितवन राइनोज चौथो भएको थियो । यस्तै काठमाडौं गुर्खाज पाँचौं, विराटनगर किंग्स छैटौं, पोखरा एभेन्र्जस सातौं र लुम्बिनी लायन्स आठौं अर्थात् पुच्छारमा रहेर यो पटकको लिग सकाएका हुन् ।
एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।