images

एपीएफ अपराजित रहँदै ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं । विभागीय टोली एपीएफ क्लब अपराजित रहँदै ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा एपीएफले आयोजक ललितपुर मेयर्स–११ लाई ३७ रनले हरायो । एपीएफले दिएको एक सय ११ रनको लक्ष्य पछ्याएको ललितपुर २० ओभरमा आठ विकेटको क्षतिमा ७३ रनमा समेटिएको थियो ।

ललितपुरका लागि सोनी पाख्रिनले १५ रन बनाइन् । लक्ष्मी चौधरी र सिमाना केसीले १०/१० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा एपीएफका बिन्दु बुढा र राजमती ऐरीले दुई दुई तथा सुस्मा श्रेष्ठ, इन्दु बर्मा र कप्तान सीता रानामगरले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय १० रन बनाएको थियो ।

एपीएफका लागि राजमती ऐरीले ४१ रन बनाउनुभयो । कप्तान सीता रानामगरले १९ र बिन्दु बुढाले १२ रन जोडिन्। बलिङमा ललितपुरका सिमाना केसी र श्रृष्टि जैसीले दुई दुई तथा मनिशा उपाध्याय र सोनी पाख्रिनले एक एक विकेट लिए ।

लिगमा अपराजित एपीएफले चार खेलबाट आठ अङ्क बनायो । ललितपुर यसअघिकै प्रतियोगिताबाट बाहिरिएको छ ।