काठमाडौं । कोसी प्रदेशलाई ११ रनले हराउँदै विभागीय टोली एपीएफ प्रधानमन्त्री कप महिला टी–२० कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार ११५ रनको लक्ष्य पछ्याएको कासीले निर्धारित २० ओभरमा १ सय ३ रन मात्र बनाएको थियो ।
कोसीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ६२, काजल श्रेष्ठले २२, अप्सरी बेगमले ८, लकिता राजवंशीले ६ र सवनम राईले अविजित २ रन बनाए । बलिङमा सीता राना मगर र करुणा भण्डारीले १–१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफका लागि इन्दु बर्माले सर्वाधिक ५३ रन बनाइन । त्यस्तै ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाए । सरिता मगर ९ र करुणा भण्डारी २ रनमा अविजित रहे । बलिङ तर्फ कोसीका लागि अप्सरी बेगमले प्रतियोगिताकै पहिलो ह्याट्रिक विकेट लिइन् । अलिसा खडियाले २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १÷१ विकेट लिए । पहिलो पटक राउण्ड रोविनमा भएको प्रतियोगितामा ७ प्रदेश र एपीएफ गरि ८ टोली सहभागी थिए ।
यसैबीच एपीएफकी ज्योति पाण्डेले खेल जीवनबाट सन्न्यास घोषणा गरेकी छन् । उपाधि जितेपछि ज्योतिले सन्न्यास घोषणा गरेकी हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका खेलाडीले ज्योतिलाई गार्ड अफ अनरद्वारा सम्मान गरेका थिए । एपीएफकी विकेट किपर तथा राइट ह्याण्ड ब्याटर ज्योतिले सन् २०१६ मा राष्टिय टोलीमा डेब्यु गरेकी थिइन् । उनी सन् २०११ देखि एपीएफमा आवद्ध भएकी थिइन् ।