काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले सुरु गरेको बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म संकल्प यात्राको समस्याहरु बारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन्।
अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डलले पार्टीले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका माग एकीकृत गरी प्रधानमन्त्री समक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो।
ध्यानाकर्षणपत्र बुझाउँदै ओलीले प्रधानमन्त्री प्रचण्डलाई मध्यपहाडका समस्या दराजमा नथन्काउन आग्रह गरे । ‘हामीले मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा गर्यौं। त्यस भेगको समस्या पहिचानका लागि महत्त्वपूर्ण बन्यो,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘हामीले त्यहाँको समस्या केन्द्रीकृत गरेर ध्यानाकर्षण गराएका छौं, यी समस्याहरू दराजमा नथन्कियुन्, कार्यान्वयन तहमा जाऊन्।’
एमालेले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको र त्यसलाई सकेसम्म जनमुखी बनाउने बताए।


                                                                                स्पेस समाचार                                    
                                                        






