काठमाडौं– टुट फट र जुट नेपाली कम्युनिस्ट पार्टीहरूको विशेषता नै बनेको छ । सामान्य विषयमा पनि पार्टी फुटाइहाल्ने अनि फेरि कम्युनिस्ट एकताको नारा लगाउने । कुनै पनि संसद्मा करिब दुई तिहाईको बहुमत भएको नेकपा केही समयमा नै तीन टुक्रामा विभाजित भए । अहिले तिनै दलका नेताहरू फेरि वृहत् कम्युनिस्ट एकताको नारा लगाइरहेका छन् । खास गरी माओवादी केन्द्रका नेताहरूले कम्युनिस्ट एकताको कुरा गरिरहँदा सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी एमालेले भने त्यति चासो देखाएको छैन ।
सत्ता र शक्तिका लागि एकजुट हुने कम्युनिस्टहरू त्यसकै लागि टुटफुटको शृङ्खलामा सहभागी हुँदै आएका छन् । राजनीतिमा उनीहरूको चरित्र नै यही हो कि भन्ने भाष्य निर्माण हुन थालेको छ । विचार, सिद्धान्त, र मिसनसँग एकाकार गर्नेभन्दा पनि पद र शक्तिको लेखाजोखा गरेर सहकार्य हुने गरेको छ । सीमित समयका लागि एकता र सहकार्य गर्ने तर अघि बढ्दै जाँदा आपसमा बखेडा झिकेर अलग हुने प्रवृत्ति हाबी छ । मतदाता र कार्यकर्तामा एकीकृत भएर अघि बढ्ने सपना देखाए पनि वास्तवमै उनीहरू एकीकृत हुन सकेका छैनन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका कम्युनिस्ट धारका दलहरू अहिले सत्ता सहकार्यमै छन् । उनीहरूबिचको सहकार्य सुरु भएपछि कम्युनिस्ट एकताको बहस पनि सुरु भएको छ । हुन त विगतमा उनीहरूबिच सहकार्य मात्र भएन पार्टी एकीकरणसम्म भएको थियो । तर, लामो समय टिक्न सकेन । यस्तो परिणति भोगिसकेका दलहरूले फेरि कम्युनिस्ट एकताको विषय उठान गरिरहेका छन् । यसमा माओवादी केन्द्रका नेताहरू अगाडि देखिएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा कम्युनिस्ट एकता जोगाउन नसकेको बताए । उनले भने,’ हिजो हामीले कम्युनिस्ट पार्टीको पुनर्गठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ । विगठन भएको छ । आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै वृहत् बाम एकीकरण हुँदै कम्युनिस्ट पार्टीको पूर्नगठनमा जाँदैछौं ।’
मुलुकमा अस्थिर राजनीति बढ्नुका पछि कम्युनिष्टहरुबीच हुने टुटफुट पनि एक कारण हो । मिश्रित निर्वाचन प्रणाली भएको हुनाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था छ । त्यसमा पनि कम्युनिस्ट विचारधाराका दलहरू नै विभाजित भएपछि झन् सरकार निर्माणमा समस्या आउने गरेको छ । कम्युनिस्ट दलहरू एकजुट भए भने त्यसले केही हदसम्म भए पनि स्थिर राजनीति र स्थिर सरकारको महसुस गराउने विश्वास व्यक्त हुँदै छ । पार्टीभित्र नै गुट उपगुटको शृङ्खला मच्चाउने दलहरू जनता र मुलुकका लागि त्यसरी अघि बढ्लान् भन्ने पत्याउन भने मुस्किल छ ।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले भने कम्युनिस्ट एकतामा सम्भावना र असम्भावना दुवै देख्छन् ।उनी भन्छन्,’कम्युनिस्ट एकता सम्भव पनि छ । असम्भव पनि छ । तर तात्त्विक भिन्नता खासै छैन ।यो देशको सविधानले एउटै कम्युनिस्ट पार्टीको परिकल्पना गरेको छैन, उनले भने,हिजो अस्ति उहाँहरूले एकता गर्नु भयो । त्यो टिकाउन सक्नु भएन ।’ उनले प्रत्येक नेताको महत्त्वाकाङ्क्षा र इच्छाका अनुसार बिग्रेको दाबी गरे ।
कम्युनिस्ट दलका नेताहरूमा सिद्धान्त र व्यवहारमा फरक देखिन्छ । सिद्धान्तलाई व्यवहारमा लागू गर्न नसक्नु उनीहरूको ठुलो कमजोरी बनेको छ । त्यसमा पनि निजी स्वार्थ र शक्तिमा केन्द्रित हुँदा कम्युनिस्ट एकताको आधार बन्न सकेको छैन ।