images

कांग्रेसको प्रधानमन्त्रीलाई प्रश्नः सदनदेखि डराएर भागेको हो ?

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्रीको खोजी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणमा जानुअघि सदनलाई जानकारी नगराएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले सदनलाई बिर्सेको भन्दै प्रधानमन्त्रीको आलोचना गरे ।

उनले भने, ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको पनि एक साता भइसकेको छ । प्रतिपक्ष दल धैर्यतापूर्वक कुरेर बसेका थियौँ । भारतको भ्रमणबारे सदनमा आएर जानकारी गराउनुहोला भने र। पाँच दिनसम्म यहाँ आउन सक्नुभएन ।’

उनले प्रधानमन्त्री देश बाहिर गएको कुरा अखबारबाट थाहा पाउनुपर्ने दुर्भाग्य भएको बताए । प्रधानमन्त्रीले सदनको न्यूनतम गरिमा नराखेको उनले सदनदेखि डराएर भाग्न खोजेको आरोप लगाए ।

उनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दै नेतामाथि गम्भीर आरोप लगाएको विषयमा आफूहरूले जवाफ माग गरेको तर, प्रधानमन्त्री संसदमा नै नआएको बताए । उनले सरकारले संसद्को अपमान गरेको बताउँदै संसद् चलिरहेको बेला सरकार प्रमुख, राष्ट्रप्रमुख विदेश जाँदा संसद्लाई जानकारी गराउनुपर्ने स्मरण गराए।

प्रधानमन्त्री भारत गएको र राष्ट्रपति विदेश गएको विषय आफूहरूले पत्रिका पढेर थाहा पाउनु दुर्भाग्य भएको बताए।

लेखकले संसद्को अर्को बैठकमा प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण र राष्ट्रपतिको विदेश भ्रमणबारे जानकारी गराउन माग गरेका छन्।