images

कांग्रेस–माओवादी सहकार्य हुने सङ्केत, तनावमा एमाले !

काठमाडौं–नेपाली राजनीतिमा सत्ताको लडाई जोडतोडका साथ चलिरहेको छ । सत्तापक्ष दलहरू सरकार जोगाउन लागिरहेका छनक भने विपक्षमा रहेका दलहरू सत्ताका लागि लागिरहेका छन् । मुलुकका दुई ठुला दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यको गृहकार्य अघि बढिरहेको छ । सत्तामा रहेको एमाले सत्ताबाट बाहिरिएर अर्को समीकरणमा सहभागी हुन खोजेपछि सत्तापक्ष दलहरू प्रतिवाद गर्ने तयारीमा देखिन्छन् । एमालेलाई पाखा लगाउन राजनीतिक रूपमा खेल्न प्रधानमन्त्री पुष्पकमल दाहाल लागिपरेको देखिन्छ । त्यसका लागि उनले कांग्रेसका केही नेताहरूसँग वार्ता अघि बढाएका छन् ।

राजनीतिमा कुनै कुरामा सहकार्य गर्नु प¥यो भने भद्र सहमतिको खाका बनाउने गरिन्छ । खाकाअनुसार दलहरूका गतिविधि अघि बढेको भने विरलै पाइन्छ । नेपालको राजनीतिमा भित्री रूपमा जे हुन्छ त्यो बाहिर प्रकट हुँदैन तर बाहिर जनतालाई भ्रम छर्नकै लागि अनेकन् झुटा कुराहरू गर्ने चलन छ । वास्तवमा भन्ने हो भने नेपालको राजनीति विभिन्न जालझेल र दाउपेचका आधारमा परिचालित छ । यसमा जसले खेल्न सक्छ उ नै शक्तिशाली कहलिनुपर्ने अवस्था छ । अहिले मुलुकको वर्तमान राजनीति फरक दिशामा मोडिएको छ ।

मुलुकका दुई ठुला दल कांग्रेस र एमाले सहकार्यको दिशामा अघि बढिरहेका छन् । तर, उनीहरूले चाहे जसरी सहकार्य अघि बढेको छैन । त्यसका लागि बाधक बनेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल । कांग्रेस–एमालेबीच सहकार्यको सहमतिमा हस्ताक्षर भएपछि दाहालले राजीनामा दिएर मार्ग प्रशस्त गरेको भए त्यो असम्भव थिएन । विश्वासको मत लिन दाहालले अड्डी कसेपछि अर्को समस्या थपिएको छ । योबीचमा सबैभन्दा निर्णायक तहमा रहेको कांग्रेस कतातिर उभिन्छ भन्ने मुख्य कुरा हो । कांग्रेससँग प्रधानमन्त्री दाहालले छलफल अघि बढाएको हुनाले दाहाल तिरै कांग्रेस ढल्किने खतरा बढेको छ । सत्ता सहकार्यको विषयमा कांग्रेसभित्र दुई धार देखिन थालेको छ । एकपक्ष कांग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरिरहेको छ भने अर्को पक्ष एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै छ ।

नेपाली कांग्रेस इतर पक्षका नेता डा शेखर कोइराला उनले संविधानलाई सबैले मान्नुपर्ने बताएका छन्। उनले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए। सधैँ अस्थिरतालाई बोकेर हिँड्नुभन्दा दुई ठुला दल मिलेर सरकार बनाउनु उचित रहेको उनको भनाइ छ।

उनले भने, ‘अहिले नै खुसी हुनसक्ने अवस्था छैन। किनभने प्रचण्ड जीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन। राजीनामा नदिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ। किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ। टेकेर हिँड्दा प्रचण्ड जीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस्। उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो।’

कोइराला तिनै नेता हुन् जो कांग्रेस–एमालेको सरकार गठनका लागि लागिपरेका थिए । एमाले–माओवादीबीच सत्ता सहकार्य चलिरहेका बेला उनीहरू यो विषयमा खटेरै लागेका थिए । अहिले उनीहरूले चाहे जसरी नै परिणाम आउन लागिरहेको छ । तर, कोइराला यसरी किन प्रस्तुत भइरहेका छन्, आशङ्का बढेको छ । उनका पछिल्ला अभिव्यक्तिले कतै कांग्रेस फेरि माओवादीसँगै सत्ता सहकार्य गर्न अघि बढिरहेको हो कि भन्ने आभास दिइरहेको छ । कोइरालाले यो अभिव्यक्ति दिने बित्तिकै प्रधानमन्त्री दाहाल हौसिएका छन् । त्यसैले उनले कोइरालासँग लगत्तै भेटघाट पनि गरेका छन् । प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि संविधानअनुसार कांग्रेसको नेतृत्वमा सरकार बन्ने एक थरी विश्लेषण हुँदै छ । तर, त्यसका लागि कांग्रेसले एमालेसँग सहमति गरेर अघि बढिसकेको हुनाले त्यो सम्भावना निकै कम भएको देखिन्छ ।

कांग्रेस–एमालेबीचको लिखित सहमति कार्यान्वयन हुन्छ हुँदैन त्यो हेर्न बाँकी नै छ । तर, सत्ता र शक्तिका लागि दलका नेताहरूले संविधान नै मिचेर अघि बढिरहेका कतिपय दृष्टान्त हेर्दा यसमा आशङ्का गर्ने पर्याप्त ठाउँ छन् । जता लाभ, उतै सहकार्यको हात अघि बढाउने प्रवृत्ति छ । लिखित सहमति दलका गतिविधि र नैतिकतासँग जोडिने विषय हो तर यो बाध्यकारी विषय भने होइन । यो पालना नगरेको खण्डमा ठुलै समस्या आइहाल्ने भने होइन । यही कुरालाई आधार बनाएर कांग्रेसले एमालेलाई पाखा लगाउने सम्भावना उत्तिकै छ ।