images

गृहमन्त्रीलाई विश्वप्रकाशको प्रश्न-गिरिबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ ?

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी स्टेटको फाइल खोल्न तयार हुनुहुन्छ भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै महामन्त्री शर्माले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले ७० बिगाहाको कमिसन खाएको भनेर आरोपित गरेको भन्दै सो उपर छानबिन गर्न चुनौती दिएका हुन् । उनले गिरिबन्धुको अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिए । महामन्त्री शर्माले गृहमन्त्रीले गिरिबन्धु टी– स्टेटको सम्बन्धमा फाइल खोल्न होइन बोल्न पनि नसक्ने बताए । उनले ओलीले शिक्षामन्त्रीमाथि गरेको टिप्पणी बारेमा समेत पार्टी सभापति समेत रहेका गृहमन्त्रीले बोल्न नसकेको टिप्पणी गरे ।

महामन्त्री शर्माले भने, ‘म यहाँनिर गृहमन्त्रीजीलाई सोध्न चाहन्छु । सत्ता गठबन्धन दलको सबैभन्दा ठुलो अध्यक्षले कांग्रेसले बेचेर ७० बिगाहाको कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ । त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न के तपाई गिरिबन्धुको फाइल खोल्नका लागि तयार हुनुहुन्छ रु म जान्दछु खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न । बोल्न सक्नुभएको भए शिक्षा मन्त्रीउपरको शब्द फिर्ता लिनुस् पूर्वप्रधानमन्त्रीज्यू उहाँले दमदार ढङ्गले भन्न सक्नुहुन्थ्यो । नम्रतापूर्वक पनि उहाँले भन्न सक्नुभएन । विवाह कसले को सँग गर्ने त्यो कुरा व्यक्तिको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । अघिल्लो पुस्ताका कोही पनि अग्रज आदरणीय नेताहरूले पछिल्लो पुस्ताका जुनसुकै दलका हुन उदाउँदै गरेको राजनीतिक नेतृत्वलाई निरुत्साहित गर्नुहुन्न । प्रोत्साहित गर्नुपर्छ ।’

महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँग केपी ओली भिडिरहेको भन्दै त्यसरी भिड्नुपरेमा उपमेयर अथवा सम्बन्धित तहका पार्टी प्रतिनिधिलाई लगाउन सुझाव समेत दिए । उनले न्युरोडमा सडक पेटी बढाउनु जरुरी रहेको धारणा राख्दै मेयर बालेन्द्रले ठिक काम गरेका समेत बताए । उनले मेयर साहलाई काम गर्न दिनुपर्नेमा जोड दिए ।

त्यस्तै महामन्त्री शर्माले अदालतले निर्दोष साबित गरेपछि पनि क्रिकेटर सन्दीप लामिछाने विश्वकप खेल्न जान नपाएको भन्दै अमेरिका जान नपाउनुमा कहाँ कमजोरी भयो भनि परराष्ट्र मन्त्री र खेलकुद मन्त्रीसँग जवाफ माग समेत गरे ।