images

गृहमन्त्री रवि लामिछानेविरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं– गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्नु पर्ने भन्दै दायर भएको रिट निवेदनको पेशी सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको छ। अधिवक्ता अनुपम भट्टराईले दायर गरेको उक्त रिटको पेशी पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा रहेको छ।

गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा महान्यायाधिवक्ता कार्यालयले क्लिन चिट दिएको देखिने गरी कुनै पनि उजुरी र अनुसन्धान नभएको भनी पत्र दिएपछि अधिवक्ता भट्टराईले त्यस विरुद्ध रिट दर्ता गरेका थिए । रिटमा गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको छ।

लामिछानेले अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग गरिएको छ। उक्त रिट यसअघि अदालत प्रशासनले दरपिठ गरिदिएको थियो । सुरुमा दरपिठ भएको रिट पनि इजलासको आदेशले दर्ता भएको हो ।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले रिट दर्ता गर्ने आदेश दिएका थिए ।