images

चितवन दुर्घटना, मृतकको सङ्ख्या दुई पुग्यो

प्युठान– गए राती चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा यात्रुवाहक बस तथा अन्य तिन सवारी एक आपसमा ठाेक्कीएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा प्युठानको नौबहिनी गाउँपालिका ३ खवांगका  १३ वर्षीय सोयम पुन रहेको स्वर्गद्वारी गौमुखी यातायात प्रा.लिका प्रबन्धक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
त्यसै गरी दुर्घटनामा घाइते भएका  ट्रकका सह चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका राम्चेका २१ का राजन सुबेदीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर घाइते सुबेदीको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा सोमबार बिहान ८ः५५ बजे ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार दुर्घटनामा घाइते २२ जनाको पनि पहिचान खुलेको हो ।
घाइते मध्ये  ४ जनाको अवस्था गम्भीर छ भने १३ जना मध्यम र तीन जना सामान्य घाइते छन्। सामान्य घाइते भएका ट्रक चालक सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–५ का २६ वर्षीय सुवास कार्की डिस्चार्ज भइसकेका छन्। उनी जिप्रका चितवनको नियन्त्रणमा छन्। घाइतेमध्ये १८ जनाको इच्छा कामना आधारभूत अस्पताल कुरिन्टार र ३ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
घाइतेहरूमा प्युठानको नौबहिनी गाउँपालिका–७ का २८ वर्षीय सुधन केसी, प्युठानको प्युठान नगरपालिका–१० का ३६ वर्षीय नीरज केसी, मालारानी गाउँपालिका–२ कि ३६ वर्षीया निर्मला भुसाल, गौमुखी गाउँपालिका–७ का २५ वर्षीय सुरज सुनार छन्। सुरज जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी जवान रहेको डिएसपी रिजालले जानकारी दिए । त्यस्तै अर्घाखाँचीको सितगंगा नगरपालिका–८ कि २९ वर्षीया पवित्रा दर्लामी, प्युठानको झिमरूक नगरपालिका– ७ का २८ वर्षीय पुरन गिरी, प्युठानको प्युठान नगरपालिका–८ का २० वर्षीय समीर केएम, सारुमारानी गाउँपालिका–४ का ३६ वर्षीय तारापति बुढाथोकी, ३५ वर्षीया मुनादेवी बुढाथोकी, ऐरावती गाउँपालिका–६ कि ५६ वर्षीय मनदेवी थापा, गाउँपालिका नखुलेको प्युठानकै ६० वर्षीय पदम थापा घाइते छन्।
प्युठानकै प्युठान नगरपालिका–१० का २१ वर्षीय सुशील केसी, प्युठान नगरपालिका–४ कि १७ वर्षीय प्रतिभा भण्डारी, प्युठान नगरपालिका–८ कि १८ वर्षीया सलिसा थापा, प्युठान नगरपालिका–१ का ३८ वर्षीय प्रकाश केसी, प्युठान नगरपालिका–८ का ५३ वर्षीया पार्वता केसी, नौबहिनी गाउँपालिका–३ का ३२ वर्षीय गौरव झाँक्री, गौमुखी गाउँपालिका–३ का २९ वर्षीय दीपक सुनार, प्युठान नगरपालिका–८ का २५ वर्षीय सन्तोष केसी र अर्घाखाँचीको सितगंगा नगरपालिका–८ का ४९ वर्षीय रामबहादुर दर्लामी घाइते छन्।
 गए राति साढे १२ बजे चितवनको भरतपुर नगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकको सत्र किलो भन्ने ठाउँमा काठमाडौँबाट प्युठान जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट महोत्तरीको बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको थियो।
डिएसपी रिजालका अनुसार ओभरटेक गर्ने क्रममा सो दुर्घटना भएको हो। यसबारेमा थप अनुसन्धान भइरहेको पनि उनले बताए। चार वटा गाडी ठोक्किँदा नारायणगढ–मुग्लिन सडक राति साढे २ बजेसम्म अवरुद्ध भएको थियो। त्यसपछि एकतर्फी सञ्चालनमा आएको उक्त सडक खण्ड बिहानसम्म दुवैतर्फ सञ्चालनमा रहेको डिएसपी रिजालले जानकारी दिए ।