images

छेडागाड-९ को वडा कार्यालयको भवन उद्घाटन, सेवा प्रवाह चुस्त हुनेमा आशा

काठमाडौं– नयाँ वर्षको अवसरमा जाजरकोटको छेडागाड नगरपालिका–९ को वडा कार्यालयको उद्घाटन भएको छ । नगर उपप्रमुख चन्द्रबहादुर थापाले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटनसँगै यहीबाट सेवाहरू सुचारु हुने भएको छ । व्यवस्थित रूपमा निर्माण गरिएको यस कार्यालयबाट सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरिएको छ ।

२०७९ मा निर्माण भए पनि अहिलेसम्म वडाका गतिविधिहरू व्यक्तिको घरबाट सञ्चालन हुँदै आएका थिए । निर्माण सम्पन्न भए पनि वडा कार्यालयबाट गतिविधिहरू सञ्चालन किन भएनन् भन्ने विषयमा स्पेस फोरके टेलिभिजनले निरन्तर दबाब दिँदै आएको थियो । वडा कार्यालयबाट सेवा प्रवाह हुन नसक्दा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

यो बिचमा जेजस्ता गतिविधि भए पनि अब स्थानीयले सहज रूपमा सेवा लिन पाउने वडाध्यक्ष गोपालबहादुर नेपालीले स्पेस समाचारलाई जानकारी दिए । उनले भने, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नागरिकसँग सरोकार राख्ने जुनसुकै काम वडा कार्यालयबाट सञ्चालन हुनेछन् । वडा कार्यालय सुरु भएपछि यहाँका सेवाग्राहीमा खुसीयाली छाएको छ ।’

वडा कार्यालय उद्घाटनको अवसरमा स्थानीय बाजागाजा, स्थानीय कला संस्कृतिको विशेष प्रस्तुति रहेको थियो ।