images
images

जङ्गली च्याउ खाँदा एक हप्तामा तीन जनाको मृत्यु,१६ जना बिरामी

काठमाडौं–मकवानपुरमा एक साताको अवधिमा जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार असार ३ गतेदेखि १० गतेसम्मको अवधिमा जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कैलाश गाउँपालिका–८ का ४ वर्षीय दीपेश लामा, सोही गाउँपालिका–९ की निरुमाया रुम्बा र राक्सिराङ–७ दुगुवाङका बल बहादुर प्रजाको रहेका छन् ।

उक्त अवधिमा जङ्गली च्याउ खाएर १६ जना बिरामी परेको प्रहरीले जनाएको छ । बिरामी मध्ये ४ जना अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको छ । उपचारार्थ मध्ये ४ जना सामान्य बिरामीको अवस्था सामान्य र ८ जना उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

१६ जना बिरामी
जङ्गली च्याउ खाएर राक्सिराङ–७ को घटनामा एकै परिवारका ४ जना गम्भीर बिरामी परेका छन् । जङ्गली च्याउ खाएर मृत्यु भएका बल बहादुर प्रजाकी श्रीमती ४५ वर्षीया जालीमाया प्रजा, छोरी १५ बर्षीया रेन्जु प्रजा र ८ वर्षीया सविना प्रजा र छोरा १० वर्षीय सुशल प्रजा बिरामी परेको प्रहरीले जनाएको छ । च्याउ खाएर बिरामी भएका उनीहरूको अवस्था गम्भीर रहेको राक्सिराङ गाउँपालिकाका स्वास्थ्यकर्मी विजय कापरीले जानकारी दिए । उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

त्यसै गरी मकवानपुरगढी–६, सानुसल्लेका ३२ वर्षीय सानु कान्छा पाख्रिन, २८वर्षीया सुविता पाख्रिन, ५ वर्षीय सुशान्त पाख्रिन, ११ वर्षीय सोनिया पाख्रिन, ४६ वर्षीय श्याम पाख्रिन, ४३ वर्षीय एलिजा पाख्रिन बिरामी परेका छन् । च्याउ खाँदा मकवानपुरगढी–५, कालीवनका ६ वर्षीय समीर थिङ, १२ वर्षीया सानु कान्छी भुलुन बिरामी परेका थिए । उनीहरूको हेटौँडा अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

त्यस्तै गरी राक्सिराङ–८ का २१ वर्षीय भुवल प्रजा, भुवलकी श्रीमती २१ वर्षीया रतिमाया प्रजा, छोरा ३ वर्षीय समिक प्रजा र भाइ १८ वर्षीय पूर्ण प्रजा बिरामी परेका छन् । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।