images

जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयासहरू गर्नुपर्छ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् । शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको बताए ।
उनले यसका असरहरू आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा देखिँदै आएको बताए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै मुलुकहरू मिलेर समाधानका प्रयासहरू गर्नुपर्ने बताए । जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेको उनले उल्लेख गरे ।
नेपालले आफ्नो श्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको भन्दै पौडेलले आर्थिक वृद्धिको इन्जिनको रूपमा रहेको अन्तर्राष्ट्रिय व्यापारमा समेत जलवायु परिवर्तनले प्रतिकुल प्रभाव पारेको उल्लेख गरे । अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा आएको र आउन सक्ने चुनौतीलाई सामना गर्नेगरी क्लाइमेट स्मार्ट एग्रिकल्चरको प्रभावकारी कार्यान्वयनको रणनीति बढाउन आवश्यक रहेको बताए ।
उनले व्यापार सम्बद्ध पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरी उत्थानशील बनाउनेतर्फ थप क्रियाशीलता अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको बताए । जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास आवश्यक रहेको उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले विश्व अर्थतन्त्रको महत्त्वपूर्ण हिस्साको रूपमा रहेको दक्षिण एसिया क्षेत्रमा आर्थिक वृद्धि र यसको दिगोपना तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनले चुनौती खडा गरेको बताए । दक्षिण एसिया क्षेत्र भौगोलिक, आर्थिक एवं सामाजिक असमानताका हिसाबले विविधतापूर्ण रहेको र जनसङ्ख्याको ठुलो हिस्सा गरिबीको रेखा मुनी रहेको अवस्थामा जलवायु परिवर्तनको प्रभावले झनै ठुलो आर्थिक एवं सामाजिक विषमता सिर्जना गर्न सक्नेतर्फ सबै सजग हुनुपर्ने उनले बताए ।