images

जिल्ला नछोड्न सिडिओलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौं–मनसुन सक्रिय हुँदै गएकाले कार्यक्षेत्र नछाड्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन दिएको छ । विपद्को बेला उद्धार तथा राहतका काम प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गर्नुपर्ने भएकाले अत्यावश्यक कामबाहेक जिल्ला नछाड्न गृह सचिव एकनारायण अर्यालले निर्देशन दिएका हुन् ।

बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमान्ड पोस्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे छलफल गरेका थिए । पालिकाहरूसँग समन्वय गर्दै तम्तयार भएर बस्न मन्त्रालयको निर्देशन दिएको हो ।

प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृह सचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रतिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृह सचिव अर्यालले निर्देशनमा बताए । ‘स्थानीय स्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ’, उनले भने ‘यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।’

यसै गरी, मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उनले अनुरोध गरेका छन्।