images

जीबी राई नेपाल ल्याउन किन आनाकानी गर्दै छन् गृहमन्त्री ?

काठमाडौं–सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईका सन्दर्भमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कांग्रेसले संसदमा प्रश्न उठाएको छ । गृहमन्त्री नै राई भगाउन लागिपरेका त छैनन् भन्दै आशङ्का पनि व्यक्त भइरहेका छन् ।

प्रतिपक्षमा रहँदा हालका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा सरकारले जीवी राईलाई किन पक्राउ नगरेको भन्दै पटक–पटक प्रश्न उठाएका थिए । तर, अहिले उनी आफैँ गृहमन्त्रीको कुर्सीमा छन् । तर, राई पक्राउ पर्न भने सकेका छैनन् । राईलाई पक्राउ गर्नु त परै जाओस् लामिछाने कहिले यसअघिको सरकारले राईलाई भगाएको दाबी गर्छन् भने कहिले लोकेसन पत्ता लागिसक्यो भन्ने जस्ता अभिव्यक्ति दिइरहेका छन् । फरार अभियुक्तलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्नेमा गृहमन्त्री आफैँ केवल वक्तव्यबाजी गर्दै हिँडेपछि प्रमुख प्रतिपक्षी कांग्रेसले उनकै नियतमाथि प्रश्न उठाएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै संवेदनशील विषयमा पनि गोपनीयता नराखेको भन्दै प्रश्न गरे। ‘एउटा देशको फरार अभियुक्त कहाँ छन् भनेर खोजिरहेको बेलामा अर्को देशको गृहमन्त्रीले हामीले लोकेट गरिसक्यौँ भन्छ।सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन् ।तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनाको राजपत्रमा प्रकाशित गरिनुबाहेक मिडियामा बिस्कुन सुकाउनुहुन्छ’,उनले भने।

गृहमन्त्रीले जीवी राईको लोकेसन पत्ता लागेको भन्नुका पछाडि समेत अन्य केही विषय हुनसक्ने सांसद शर्माले आशङ्का व्यक्त गरे। ‘सहकारी ठगीमा फरार भएको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरमा भएका गृहमन्त्री ज्युले गिरफ्तार गर्नु छ।त्यसैले लोकेसन पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ?  शर्माले प्रश्न गरे, अभियुक्त पक्रने नयाँ शैली हो ? केटाकेटी पन हो कि भगाउने नियत हो ? उनले भने।’

मलेसियासँग सुपुर्दगी सन्धि नभएको भन्दै सरकार पन्छिरहेको छ । तर, कांग्रेस महामन्त्री शर्मा भने मलेसियाबाट कसैलाई पक्रिएर नेपाल ल्याउन दुई देशका बीचमा सुपुर्दगी सन्धि नचाहिने तर्क गर्छन् ।

राईलाई नेपाल ल्याउन नेपाल प्रहरीले विभिन्न प्रयासहरू भने गरेको थियो । उनलाई नियन्त्रणमा लिन डिफ्यूजन नोटिस समेत जारी भइसकेको छ । यो नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भए÷नभएको सूचना प्रदान गर्छन् । तर, गृहमन्त्री भने राई मलेसियामा रहेको र नेपाल ल्याउने प्रक्रिया भइरहेको दाबी गर्छन् ।