images

दुग्ध क्षेत्रको सुधार र समस्या समाधानका लागि ७ बुँदे प्रतिबद्धता पत्र जारी

सर्लाही । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मधेस प्रदेशका किसानहरुको कृषि उपज तथा पशुपन्छी र मत्स्य क्षेत्रको विकासका लागि किसान केन्द्रित अभियान सुरु गरेको छ ।

प्रदेश दुग्ध विकास बोर्ड जनकपुरघामले सर्लाहीको लालबन्दीमा आयोजना गरेको संघ र प्रदेश स्तरीय दुग्ध विकास बोर्डका पदाधिकारीसहित अन्य सरोकारवालाबिचको समन्वय बैठकको अवसरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले उक्त अभियानको सुभारम्भ गरेको हो।

मन्त्री न्यौपानेको उपस्थितिमा आयोजित उक्त बैठकमा ‘आर्थिक समृद्धिको आधार, दुग्ध क्षेत्रमा उल्लेख्य सुधार’ भन्ने धारणालाई कार्यान्वयन गर्न र दुग्ध क्षेत्रको दिगो व्यवस्थापनलाई सार्थक तुल्याउन सम्बन्ध पक्षबीच सहमति गरि दुग्ध क्षेत्रको सुधार र समस्या समाधानका लागि ७ बुँदे प्रतिबद्धता समेत जारी गरिएको छ।

किसानको हकहितसँग जोडिएका कुराहरु जुन किसानले पाउनुपर्ने हो त्यसलाई व्यवस्थित गरेर व्यवहारमा लागू गर्ने, योजना तर्जुमा, गोष्ठी बैठक र अनुगमन लगायतका जुनसुकै किसान केन्द्रित कार्यक्रम गर्नुपर्दा किसानहरुको सहभागीता अनिवार्य हुनुपर्ने, ३० मिनेटको अवधारणा बमोजिम किसानलाई आवश्यक पर्ने प्राविधिक र अन्य सहयोगहरु ३० मिनेटको भित्रमा उपलब्ध गराउने, किसान, सरकार र प्राविधिकहरु बिचको सम्बन्धलाई सुमधुर कायम गर्ने, किसानहरुको श्रृजनशिलता, उत्साह, उमंग र उनीहरूको व्यवसायीकतामा सुधार ल्याउनको लागि आवश्यक पर्ने सम्पूर्ण क्रियाकलापहरुलाई अगाडि बढाउने लगायतका बुँदाहरु प्रतिबद्धता पत्रमा समेटिएको प्रदेश दुग्ध विकास बोर्ड जनकपुरधामका निर्देशक शंकर साहले बताएका छन्।

कार्यक्रममा बोल्दै भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री न्यौपानेले अहिलेका नयाँ पुस्ताहरु पुरानो पुस्ताले गर्दै आएको कृषि पेशालाई अपनाउन लाज मान्ने गरेकोमा चिन्ता व्यक्त गरे । कृषि पेशामा लागेका मानिसहरुको तुलनामा अन्य पेशामा लागेका मानिसहरुको समाजमा बढी मान प्रतिष्ठित हुने गरेकोले किसानलाई पनि प्रतिष्ठित बनाउनुपर्छ भन्ने सोंच लिएर यो अभियान सुरु गरिएको उनले बताए । किसानहरु पनि सम्मानित हुन थालेपछि कृषि पेशा अपनाउन लाज मान्ने नयाँ पुस्ताको चाहना र झुकाव यस पेशातर्फ बढ्दै जाने साथै समस्याहरु पनि समाधान हुने भन्ने सोंच लिएर किसान केन्द्रित अभियान सुरु गरिएको उनले जानकारी गराए।

उनले अबदेखि हरेक कार्यक्रममा किसानलाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम गरिने मन्त्री न्यौपानेले बताए ।लालबन्दीमा आयोजित संघ र प्रदेश स्तरीय दुग्ध विकास बोर्डहरु बिचको समन्वय बैठक पनि साना किसान कृषि सहकारी संस्था परवानीपुर लालबन्दीकी अध्यक्ष मिना कुमारी स्याङ्तानको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।

लालबन्दी स्थित युनाइटेड होटलमा सम्पन्न भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका सचिव डा.शरण कुमार पाण्डे ,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका प्रमुख उपेन्द्र सिंह, मधेस प्रदेश अन्तर्गत जिल्लाका डेरी उद्योगी, दुधजन्य सहकारीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।