images

देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अहिलेको अवस्था बदल्नुपर्ने बताएका छन् ।

बिहीबार ६२ औँ इन्जिनियर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको पनि बताए। देश प्रशंसा गर्न लायक भए पनि देशको अवस्था भने प्रशंसा गर्न लायक नभएको बताए । उनले देशको इतिहास गौरवपूर्ण र प्रशंसा गर्न लायक भएको बताए । उनले देशको भविष्य उज्ज्वल रहेको भए पनि अहिलेको अवस्था भने सन्तोष मान्न र खुसी हुन सकिने नरहेको बताए ।

उनले भने – ‘देश समस्यामा छ । शरीरमा सन्चो छैन बिरामी छु भनेपछि यो हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र रु ज्वरो चाहिँ आएको छ तर हात चाहिँ ठिकै छ भन्ने कुरा हुन्छ र ? ज्वरो आएपछि त सबैतिर ज्वरो आउँछ नि । त्यस कारण देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन देशको अवस्था । देश प्रशंसा गर्न लायक छ । देशको इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । प्रशंसा गर्न लायक छ । भविष्य उज्ज्वल छ । त्यसमा कुनै सन्देह छैन । तर आज सन्तोष मान्न, खुसी हुन सकिने अवस्था छैन । हामीले यस अवस्थालाई बदल्नै पर्ने छ ।’

उनले इन्जिनियरहरूले उच्च आत्मबल, उच्च मनोबलका र उच्च नैतिक बलका साथ देशको सेवा गरिरहेका बताए । इन्जिनियरहरूको समस्यालाई समाधान गर्न सरकार सकारात्मक रहेको उनको भनाई छ ।