images

नाता पर्ने दाइलाई खुट्टामा ढोग नगरेको भन्दै कुटेर मान्छे मार्ने दुई जना पक्राउ

सल्यान । ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गर्ने दुई जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान बागचौर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।

उनीहरूले ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरेका थिए । मैदानमा सहभागी केशरले घनश्यामलाई ‘ए भाइ तेरो दाइलाई ढोग गर’ भन्दै
खुट्टामा नै ढोग गर्न लगाएपछि घनश्यामले ‘मैले किन तपाईँलाई ढोग्नु ढोग्दिनँ’ भन्ने जवाफ दिएका थिए ।

त्यसपछि केशर र घनश्यामबिच हात हालाहाल भएको थियो । पछि केशर र सन्तोष मिलेर घनश्यामलाई मर्ने गरी कुटपिट गर्दै घाइते बनाएर त्यहीँ छोडेर भागेका थिए‌।

घनश्यामको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैँको अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा लगिएको थियो । डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लगेर उपचार गर्ने क्रममा बुधवार बिहान मूत्यु भएको थियो ।

घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरी अनुसार केशरलाई बुधबार बेलुका बागचौर नगरपालिका -९, मौरीघारेबाट र सन्तोषलाई दाङको तुल्सीपुर उपमहानगरपालिका -१२, रझेनामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी कशुरमा पक्राउ गरिएको हो ।