images

नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने विश्व वैंकको प्रक्षेपण

काठमाडौं–विश्व बैंकले आगामी वर्ष नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले विश्व अर्थतन्त्रको औसत विस्तारको तुलनामा नेपाली अर्थतन्त्रको विस्तार सन्तोषजनक रहेको बताएको हो ।

विश्व बैंकले सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशत रहने आंकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷८१ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । गत आर्थिक वर्ष नेपालको आर्थिक विस्तार मात्र १ दशमलव ९ प्रतिशत थियो ।

आगामी आर्थिक वर्ष भने नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व अर्थतन्त्र भने आगामी आर्थिक वर्ष अर्थात सन् २०२५ मा समेत सुस्त नै रहने छ उसको आंकलन छ । यस वर्ष १ दशमलव ६ प्रतिशतले विस्तार भएको अमेरिकी अर्थतन्त्र आगामी वर्ष १ दशमलव ७ प्रतिशतले मात्र विस्तार हुने अनुमान छ ।

त्यस्तै जापान, चीन, रुस लगायतका देशको अर्थतन्त्र विस्तार पनि सुस्त हुने विश्व बैंकको आकलन छ । भारतको अर्थतन्त्रमा भने निकै प्रगति देखिएको छ । यस वर्ष ६ दशमलव४ प्रतिशतले बढ्ने भारतीय अर्थतन्त्रले आगामी वर्ष समेत सोही गति समात्ने विश्व बैंकको अनुमान छ ।
०००