काठमाण्डौ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । फाइनल खेल दिउँसो १२ बजेपछि त्रिवि क्रिकेट मैदानमा शुरू हुनेछ ।
सुदूरपश्चिम ७ खेलमा ६ जीतका साथ अङ्कतालिकामा शीर्ष र जनकपुर समान ७ खेलमा ५ जीतका साथ दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले हराएको थियो ।
फाइनल खेल अघि दुवै टोलीका कप्तानले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफूहरुले लिग चरणदेखि अहिलेसम्म राम्रो प्रदर्शन गरेको र फाइनल खेलमा पनि यो लयलाई निरन्तरता दिने प्रयास गर्ने बताएका छन् । यस्तै जनकपुरका कप्तान आसिफ शेखले उपाधि जित्ने दाबी गरेका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानले एनपीएलको आयोजना गरेको हो । गएको मङ्सिर १५ गतेदेखि शुरू भएको प्रतियोगितामा ८ टोली सहभागी थिए । घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता फ्रेञ्चाइज टिम फाइनलमा पुगेका सुदूरपश्चिम र जनकपुरसहित विराटनगर किङ्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स र कर्णाली याक्स रहेका थिए ।