images

पोखरा महानगरपालिकाका सब–इन्जिनियरसहित दुई जना घुससहित पक्राउ

काठमाडौं– पोखरा महानगरपालिकाकी सब—इन्जिनियरसहित दुई जना घुस रकमसहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवर पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले उनीहरूको साथबाट डेढ लाख रुपैयाँ बरामद भएको जनाएको छ ।

उनीहरूले घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए । अख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्र पुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको माले पाटनबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ ।