images

प्रचण्डको नयाँ मिसन, देउवालाई फकाउने रणनीति !

काठमाडौं– सत्ता साझेदार दल एमालेले समर्थन फिर्ता लिएसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । कांग्रेस र एमालेबीच भएको सहमति अनुसार अब सत्ताको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । कांग्रेस र एमालेको सहमतिपछि रन्थनिएका प्रचण्ड सत्ता हत्याउन अर्को खेल खेल्न लागेको राजनीतिक वृत्तमा चर्चा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता जोगाउन नयाँ रणनीतिका साथ अगाडी बढेका छन् । कांग्रेस एमालेले नयाँ समीकरण गरेर अघि बढ्ने निर्णय गरेसँगै प्रचण्डको निद हराम मात्रै भएको छैन उनीमाथि झन् सङ्कट थपिएको छ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका कारण प्रचण्ड दाँत निस्केको बुढो बाघ जस्तै बनेका छन् । संवैधानिक व्यवस्था अनुसार उनी अझै एक महिना प्रधानमन्त्रीमा बहाल रहन सक्छन् । एक महिनाको समयमा कताबाट खेल्न सकिन्छ भन्ने रणनीतिमा प्रचण्ड लागेका छन् ।

सत्ताको प्रमुख हिस्सेदार दल नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै उनको सरकार अल्पमतमा परिसकेको छ । प्रधानमन्त्रीले नयाँ रणनीति बुन्ने लक्ष्यका साथ राजीनामा दिन पुगेका रास्वपाका मन्त्रीहरूलाई नै रित्तो हात फर्काएका छन् । राजनीतिका माहिर खेलाडी प्रचण्ड कांगेस एमालेको समीकरण बन्न नदिने लक्ष्यमा देखिन्छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने प्रयासमा प्रचण्ड लाग्ने आङ्कलन हुन थालेको छ । देउवालाई प्रधानमन्त्री दिएर भए पनि कांग्रेस र एमालेबीचको सहमति तोड्ने मिसनमा प्रचण्ड लागेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो गुण तिर्ने र आफूलाई सहयोग गर्ने अपेक्षा प्रचण्डको छ । यदि राष्ट्रपतिले सरकार गठनका लागि संविधानको धारा ७६ को ३ बमोजिम आह्वान गरेमा ठुलो दलको हैसियतले शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ । देउवा प्रधानमन्त्री बनेपछि सरकारमा सहभागी भएर एमालेलाई पाखा लगाउने र माओवादीलाई सरकारमा सहभागी गराउने रणनीति प्रचण्डको छ । उसो त प्रचण्डले बेला बेला उथलपुथल गर्ने अभिव्यक्ति दिँदै आएका छन् । केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन प्रचण्डले कांग्रेसलाई सबै पदहरुपनि दिन सक्ने आङ्कलन राजनीतिक विश्लेषक प्रा।डा। प्रेम शर्माको रहेको छ ।

यस्तै, राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिएर भए पनि देउवालाई फकाउने योजना प्रचण्डको छ । जे गरेर भए पनि एक महिनाको अवधिमा कांग्रेसलाई फकाउन प्रचण्डले हदैसम्मको प्रयास गर्ने देखिन्छ । सत्ताका लागि जस्तोसुकै सम्झौता गर्न पनि पछि नपर्ने प्रचण्डको राजनीतिक चरित्रका कारण कांग्रेस–एमाले संशकित देखिन्छन् । सरकार अल्पमतमा परेता पनि नैतिकताको आधारमा प्रचण्डले राजीनामा दिएका छैनन् । तर माओवादी केन्द्रका महासचिव देव गुरुङ भने प्रचण्डले सत्ताका लागि कसैसँग बार्गेनिङ नगर्ने बताउँछन् । संवैधानिक बाटो अनुसार नै प्रचण्ड विश्वासको मतको प्रतीक्षामा रहेको तर्क गुरुङको छ ।

प्रचण्डले संसदमा विश्वासको मतको सामना गर्नुभन्दा पनि नैतिकता आधारमा राजीनामा दिनुमा नै बुद्धिमानी हुने टिप्पणी विश्लेषकहरूको छ । किनकि प्रचण्डले विश्वासको मत पाउने सम्भावना ज्यादै न्यून बन्दै गएको छ ।