images

प्रधानमन्त्री दाहालले अविलम्ब राजीनामा दिनुपर्छः एमाले

काठमाडौं–नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ ।

आइतबार सङ्घीय संसद् भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रूपमा अल्पमतमा परेकाले आजै अविलम्ब राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको हो ।

प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा एमालेले भने तत्काल सरकारबाट राजीनामा गर्न सुझाएको हो । काँग्रेससँगको सहमति अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्ब गर्न नहुने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तीव्रता दिने काममा सहयोग गरेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।

प्रमुख सचेतक बर्तौलाले भने,‘काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । र यस महत्त्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात् मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली काँग्रेसले जुन महत्त्वपूर्ण भूमिका निर्वाह ग¥यो । यसप्रति नेकपा एमालेको यस संसदीय दलको बैठकले नेपाली काँग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौँ । त्यसै गरी यो सरकारलाई दिएको समर्थन नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरूले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्पमतमा परेको छ । यस्तो अवस्थामा सरकारले अझै पनि राजीनामा दिएको अवस्था रहेन । त्यस कारण आजको एमालेको संसदीय दलको बैठकबाट अझै पनि राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो । त्यस कारण अविलम्ब नेपाल सरकारका प्रधानमन्त्रीलाई काम चलाऊ प्रधानमन्त्री रूपमा रहेको प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रशस्त गर्नका लागि हाम्रो बैठकले त्यो अनुरोध गरेको छ ।

त्यसै गरी एमालेले काम चलाऊ अवस्थामा पुगेकाले सरकारलाई कुनै पनि निर्णय नगर्न पनि सचेत गराइएको प्रमुख सचेतक बर्तौलाले बताए । पार्टीका सांसद आस्मा चौधरीकी पति लौटन चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै त्यसमा देखिएको आशङ्का निवारण हुने गरी छानबिन गर्न पनि नेपाल प्रहरीलाई अनुरोध गरेको छ ।