images

फेरि एउटा नयाँ आन्दोलनको तयारीमा छौँः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र, वर्ग र जनताको निम्ति फेरि एउटा नयाँ आन्दोलनको तयारीमा रहेको बताएका छन् । बिहीबार काठमाडौंमा जन सांस्कृतिक महासङ्घ नेपालको राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले क्रान्तिको बाटो सरल रेखामा नजाने बताउँदै उनले सरकारको तर्फबाट सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा नगरिएको बताए । उनले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई गम्भीरताका साथ हेर्ने हो भने समाजवादको बीउ रोप्ने प्रयास गरिएको उल्लेख गरे । उनले समाजवादको निम्ति एकता आवश्यक रहेको पनि बताए । उनले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु रहेको बताए । उनले कृषिलाई आधार बनाएर र आइटीलाई अगाडि बढाएर मात्रै समाजवादी यात्रामा अघि बढ् नसक्ने बताए । समाजवादको सोच र रूपान्तरणको अभियान सांस्कृतिक रूपान्तरणको अभियान भएको बताए ।

उनले भने, ‘अब समाजवादको एउटा नयाँ यात्रातिर हामी छौँ । त्यहाँ भनिएजस्तै समाजवादले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा पनि एउटा ठुलो शक्ति सञ्चयको अपेक्षा गर्दछ । आफ्नो देशभित्र मात्रै होइन, विश्वभरका श्रमिकहरूसँग, सबै न्याय प्रेमी जनसमुदायसँग एउटा ठुलो एकताको अपेक्षा राख्दछ । हामीले समाजवादी क्रान्तिको कुरा गर्दा हामीले भनेका के छौँ भने अहिले आधार निर्माण गर्ने कुरालाई मुख्य भनेका छौँ । हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको कुरा गर्नुको तात्पर्य समाजवादको आधार तयार पार्नु नै हो । हामी कोही कन्फ्युजनमा बस्नु हुँदैन । हामीले अहिले समाजवादी मोर्चा बनाउने कुरा वा वामपन्थी ध्रुवीकरणको निम्ति पहल गर्ने कुरा समाजवादको आधार तयार पार्ने कुरासँग नै सम्बन्धित छ । हामी कोही दुबिधामा बस्न हुँदैन । किनभने क्रान्तिको बाटो सरल रेखामा जाँदैन । रणनीतिक रूपमा कतातिर सोच्दै छौँ भन्नेबारेमा ध्यान दिनुपर्छ । राष्ट्रको निम्ति, वर्ग र जनताको निम्ति फेरि पनि एउटा नयाँ आन्दोलनको तयारीका रूपमा हामी अघि बढिरहेका छौँ । अहिले हेर्नुभयो भने सरकारको तर्फबाट पनि खालि सुशासन, सामाजिक न्याय र समृद्धिको मात्रै कुरा गरिएको छैन, भर्खरै अघि सारिएको नीति कार्यक्रमलाई गहिरो गरी हेर्नुभयो भने वा अस्ति मात्रै प्रस्तुत भएको बजेटलाई राम्रोसँग हेर्नुभयो भने समाजवादका भ्रूणहरू, समाजवादको बीउ रोप्ने प्रयास गरिएको छ । समाजवादको निम्ति एकता आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिए । समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए ।