images

बागमती नगरपालिकाका मेयर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्लाही–सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । थापा २०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

२०७४ असोज ७ गते मेयरको जिम्मेवारी सम्हालेदेखि २०७९ माघ २९ सम्मको अवधिसम्म उनले स्रोत खुल्ने ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ जम्मा गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उक्त कार्यकालका क्रममा थापाले १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ खर्च देखिएको जनाएको छ। यस्तोमा उनको वैध आम्दानी र खर्च मेल नखाएको निष्कर्षसहित थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको हो । जम्मा आम्दानी तथा लगानी र खर्चबिच तादात्म्य नमिलेको निष्कर्ष अख्तियारको छ ।

थापाले ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध बाटोमा कमाएको अख्तियारको अनुसन्धानबाट देखिएको छ । अख्तियारले थापाविरुद्ध ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ बराबरकै बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापाले सार्वजनिक पदमा रहँदा अवैध रूपमा कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा राखेको अख्तियारको दाबी छ । उक्त अवैध सम्पत्ति जफतका लागि उनीहरू तीन जनालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको छ ।