images

भोजपुरका २८ जना कृषकले लिए हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम

भोजपुर– कृषकलाई अत्याधुनिक प्रविधिमा जोड्ने योजनासहित सरकारले ग्रामीण भेगमा पनि विभिन्न प्रविधि वितरण गर्दै आएको छ । तर त्यसरी वितरण गरिएका मेसिन तथा उपकरण प्रयोग गर्न तथा बिग्रिएको खण्डमा सामान्य मर्मत सम्भार गर्न भने किसानलाई सिकाइने गरिएको छैन । जस कारण ती मेसिन केही प्रयोगमा नै आउँदैनन् भने केही सामान्य मर्मत नपाउँदा खेतबारीमै थन्किने गरेका छन् । कृषकको सोही समस्या हल गर्न यति बेला भने भोजपुरमा हाते ट्याक्टर वितरणपछि मर्मत सम्भारको तालिम समेत दिइएको छ ।

जिल्लाका दूर दराजका किसानहरूले आधुनिक कृषि यन्त्र, उपकरण प्रयोग गरिरहेका छन् । यन्त्र उपकरण सञ्चालन गरे पनि त्यसको प्रयोग तथा सामान्य मर्मत बारे जानकारी नहुँदा भने समस्या कृषक समस्यामा पर्ने गरेका छन् । सोही समस्यालाई मध्यनजर गर्दै भोजपुर जिल्लाका २८ जना कृषकलाई यति बेला हाते ट्याक्टर मर्मत तथा सञ्चालन सम्बन्धी तालिमको व्यवस्थापन गरिएको छ । तालिमपछि उनीहरूको सामान्य समस्या हुँदासमेत हजारौँ खर्च गरेर सदरमुकामसम्म पुग्नुपर्ने समस्या हल हुने कृषक धनकुमार राईको भनाई छ ।

घरेलु तथा साना उद्योग कार्यालयले मात्र गत ५ वर्षमा कृषकलाई करिब तीन सय वटा हाते ट्याक्टर वितरण गरेको छ । तर किसानलाई ट्याक्टर सञ्चालन तथा मर्मतमा समस्या भएपछि यस वर्ष भने एक महिने प्रयोगात्मक तालिम दिइएको भोजपुर नगरपालिका १२ का वडाध्यक्ष देवी प्रसाद कार्कीले बताए ।

यसरी कृषिलाई प्रविधिसित जोड्न मेसिन तथा उपकरण वितरणपछि कृषकलाई सञ्चालन र मर्मत सम्भारको सामान्य ज्ञान समेत दिने हो भने सरकारको लगानीले सार्थकता पाउने देखिन्छ ।