images

माथिल्लो अरुण र दूधकोशी जलविद्युतको काम छिटो थाल्न विश्व बैङ्क र एडिबी सहमत

काठमाडौं– सरकार र माथिल्लो अरुण तथा दूधकोशीका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैङ्क र एसियाली विकास बैङ्कबिच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ ।

बिहीबार अर्थमन्त्री वर्षमान पुन, ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैङ्कका नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने निर्देशक फारिस् हजाद जर्भोस तथा एसियाली विकास बैङ्कका नेपाल निर्देशक अर्नाउड काउचियोसबीच भएको छलफलमा सहमति जुटेको हो ।

छलफलमा दुवै आयोजनाको वित्तीय व्यवस्थापन छिटो सकेर निर्माणको काम अघि बढाउने सहमति भएको छ । आयोजनाको वित्तीय व्यवस्थापन र आयोजना कार्यान्वयनको क्षमता अभिवृद्धिबारे विस्तृतमा छलफल भएको थियो । सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्ध जलासययुक्त माथिल्लो अरुणको विश्व बैङ्क र खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटमा निर्माण हुने ६ सय ३५ मेगावाटको जलाशययुक्त दूधकोशी जलविद्युत आयोजनाको एसियाली विकास बैङ्क नेतृत्वको सहवित्तीयकरणमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाको सहुलियतपूर्ण ऋण र स्वदेशी बैङ्क तथा वित्तीय संस्थाबाट गरी ७० प्रतिशत ऋण लगानी जुटाउनुका साथै ३० प्रतिशत स्वपुँजीबाट वित्तीय व्यवस्थापन गर्ने तयारी छ ।

बैठकमा अर्थमन्त्री पुनले माथिल्लो अरुण र दूधकोशीजस्ता ठुला आयोजनाको निर्माणपछि नेपालको ऊर्जा क्षेत्रमा नयाँ अध्याय थपिने बताए । उनले आयोजना निर्माणको काममा ढिलाइ गर्न नहुनेमा सरकार स्पष्ट रहेको भन्दै त्यसका लागि सहजीकरण गर्न तयार रहेको पनि बताए ।