images

मेलम्चीमा आएको बाढीले अस्थायी पुलमा क्षति, स्थानीयलाई सास्ती

काठमाडौं– गए राति आएको अविरल वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुलमा क्षति गरेको छ ।मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुलमा क्षति गरेको हो । २०७८ को बाढीले पुल बगाएपछि ह्युम पाइप राखेर अस्थायी पुल बनाइएको थियो ।

मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँच पोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडा जोड्ने अस्थायी पुल बगाएको हो ।

पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान असहज भएको वडा नम्बर ११ का वडाध्यक्ष चन्द्र तामाङले जानकारी दिए । वर्षा सुरु भएसँगै गए रातिको वर्षाले पुलमा क्षति पुगेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए ।

उनले अब ह्युमपाइप झिकेर सुरक्षित समेत बताए । २०७८ असार १ गते आएको मेलम्ची बाढीले सोही स्थानमा रहेको पक्की पुल बगाएपछि अहिले हरेक हिउँदमा ह्युम पाइप राखेर अस्थायी रूपमा आवतजावत गर्ने गरिएको थियो । वर्षात सुरु भएसँगै खोलामा पानीको बहाव बढ्ने र ह्युम पाइप बगाउने हुनाले स्थानीयले सास्ती खेप्दै आएका छन् ।

 

नगरपालिका आफैँले पक्की पुल निर्माणका लागि बजेट समेत विनियोजन गरेर डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन गरे पनि यातायात व्यवस्था निर्देशनालयमा फाइल अड्केपछि पुल निर्माणको प्रक्रिया अड्केको नगरप्रमुख तामाङले बताए । नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा समेत पुल निर्माणका लागी ८ करोड विनियोजन समेत गरेको छ ।