images

लप्सीफेदीमा स्थानीयको आक्रमणबाट प्रहरीका डिएसपीसहित ३ जना घाइते, के हो विवाद ?

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सबस्टेसन निर्माणका लागि सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा स्थानीयले सुरक्षाकर्मी माथि आक्रमण गरेका छन् ।

स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न प्रक्रिया अघि बढाएको छ ।

सरकारले सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।

त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो ।

स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएका हुन् ।

सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

वास्तविक स्थानीय प्रभावितहरुले जग्गाको मुअब्जा बुझिसकेपनि प्रभावित क्षेत्रमा नपर्ने केही स्थानीहरुका नाजायज मागका कारण लप्सीफेदी सवस्टेशन निर्माणमा अवरोध भइरहेको नेपा विद्युयु प्राधिकरणको भनाइ छ ।