images

विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक छन्ः अर्थमन्त्री महत

काठमाडौं–अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको दाबी गरेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री महतले विगतमा विदेशी लगानीकर्ताहरु नेपाल आफैँ सम्पर्कमा जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले आफैँ खोज्दै आइरहेको बताए । विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताए । उनले वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई सफल बनाउन आग्रह पनि गरे ।

अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने पनि बताए । सो सम्मेलनमा ९२ देशका प्रतिनिधि तथा विश्व बैंकका प्रमुखको उपस्थिति हुने उनको भनाइ छ ।

बैठकमा मुख्यसचिव डाक्टर वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन केही कानुन संशोधन गर्नुपर्नेमा जोड दिए ।लगानी सम्मेलन अगाडि एक दर्जन कानुन संशोधन गर्ने तयारी गरिएको छ । बैठकमा नीति, कानुन तथा संरचनागत सुधार कार्यदलका संयोजक एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्यालले कानुनी तथा नीतिगत सुधार सम्बन्धमा तयार भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

निजी क्षेत्र समेतको सहभागितामा प्रतिवेदन तयार भई मुख्यसचिव संयोजकत्वको लगानी सम्मेलन कार्यान्वयन समितिको बैठकमा प्राप्त पृष्ठपोषण समेत समावेश गरी तयार भएको प्रतिवेदनमा आधारित रहेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत ‘लगानी सहजीकरण गर्न केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ मन्त्रिपरिषद्को स्वीकृति पश्चात् अनुमोदनका लागि संसदीय प्रक्रियामा प्रवेश गर्ने भएको छ ।