images

विद्यालय भवन निर्माणको काम अलपत्र हुँदा बारामा तीन सय मुस्लिम बालबालिका शिक्षाबाट वञ्चित

बारा– बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको २ तले भवन ३ वर्षदेखि अलपत्र छ । उक्त विद्यालय नबन्दा त्यस क्षेत्रका बालबालिकालाई अति व्यस्त पथलैया–वीरगन्ज ६ लेन सडक पार गरेर केही परको विद्यालय जानुपर्ने बाध्यता छ ।

त्यहाँका नागरिकको मुख्य पेसा कृषि रहेकाले अधिकांश अभिभावकसँग विद्यालयसम्म छोराछोरीलाई पु¥धाउन जाने फुर्सद छैन । जस कारण बालबालिका गाउँघरमा खेलेर नै दिन बिताइरहेका छन् । एकातिर बिहान बेलुका गुजारा गर्न दिनभर सङ्घर्ष गर्नुपर्ने अभिभावकको बाध्यता, अर्कोतर्फ नजिकै भएको विद्यालयको भवन नबनेकै कारण विद्यालय जान नसक्ने अवस्था । जसका कारण त्यहाँका बालबालिका पढ्नबाटै वञ्चित भएका छन् । अति व्यस्त सडक पार गरेर विद्यालय जाऊ भन्दा दुर्घटनाका कारण छोराछोरीकै ज्यान जोखिममा देखिएपछि बालबालिकालाई विद्यालय पठाउन नसकेको स्थानीय एमामुला मन्सुरीको भनाइ रहेको छ ।

उपमहानगरपालिकाले सुरु गरिसकेको विद्यालय भवन निर्माणको काममा प्रदेश सरकारले हस्तक्षेप गर्दै डिजाइन नै परिवर्तन गरिदिएपछि ढिलाइ भएको थियो । केही समयपछि सुरु भएको भवनको काम छत ढलान गर्ने क्रममा गुणस्तरहीन काम भएपछि गत वर्षदेखि स्थानीय तथा सरोकारवालाको विरोधका कारण ठप्प बनेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–२३ निवर्तमान वडाध्यक्ष असलम देवानको कार्यकालमा सुरु भएको काम ठेकेदारसँगको मिलेमतोमा उनले नै गुणस्तरहीन बनाएको हालका वडाध्यक्ष मुस्ताकिम अन्सारीको आरोप छ

श्री नेपाल राष्ट्रिय मावि भलुहीको २ तले भवन निर्माणका लागि जीतपुर–सिमरा उपमहानगरपालिकाले ३ वर्षअघि ६० लाख बजेट विनियोजन गरेर काम सुरु गरेको थियो । निर्माणाधीन सोही भवनमा पछि प्रदेश सरकारले पनि ५० लाख लगानी थप गरेको थियो । लगानी हालेपछि प्रदेश सरकारबाट उपमहानगरले शिक्षा मन्त्रालयबाट पास गराइसकेको डिजाइनमा समेत सहमति नजुटेपछि काममा ढिलाइ भएको थियो । सवा करोड लगानी भइसकेको अपुरो विद्यालय भवन सम्पन्न भए छोराछोरीले पढ्न पाउने स्थानीयको आश छ । कक्षा १ देखि कक्षा ८ सम्म पठनपाठनका लागि निर्माण भएको विद्यालय भवन अलपत्र हुँदा सो वडाका मुस्लिम समुदायका करिब ३ सय बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको छ ।