काठमाडौं– जारी आइसिसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच आमनेसामने हुँदै छन् । पहिलो पटक सेमिफाइनल पुगेको अफगानिस्तान र १० वर्षको प्रतीक्षापछि सेमिफाइनलमा पुगेको दक्षिण अफ्रिकाबिच विहिबार रोमाञ्चक खेल हुने भएको हो ।
ट्रीनाडस्थित ब्रायन लारा स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार बिहान ६ः१५ बजेदेखि खेल सुरु हुने भएको हो ।दक्षिण अफ्रिका सुपर आठमा तीन वटै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने अफगानिस्तानले अस्ट्रेलिया र बङ्गलादेशलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । विश्वकपमा दुवै देशका लागि भाग्य यात्राका रूपमा हेरिएको छ ।
दक्षिण अफ्रिकाले अहिलेसम्म अपराजित रहे पनि सबै खेलमा सङ्घर्षपूर्ण जित हासिल गर्दै सेमिफाइनलसम्म पुग्न सफल बनेको हो । त्यसै गरी अर्कोतर्फ अफगानिस्तानले समूह चरणमा न्युजिल्याण्ड र सुपर आठमा अस्ट्रेलियालाई पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिका १० वर्षपछि विश्वकपको सेमिफाइनलमा पुगेको छ । यस अघि सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि सन् २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो । दक्षिण अफ्रिका विश्वकपमा अहिलेसम्म सेमिफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।
दक्षिण अफ्रिका र अफगानिस्तानबिच अहिलेसम्म २ टी –२० खेल भएका छन् । जसमा दुवै खेल दक्षिण अफ्रिकाले जित हात पारिसकेको छ ।
विश्वकपमा यी दुई टोलीको यात्रा निकै रोचकमय नै देखिएको छ । सेमिफाइनलमा अफगानिस्तानसँग बलियो हतियार स्पिनर छ । जसका विश्वलाई नै चकित पार्ने स्पिनरको प्रभाव पारेका खेलाडी रासिद खान छन् । बलिङतर्फ राम्रो रहेको अफगानिस्तान ब्याटिङ तर्फ विश्वकपमा त्यति प्रभावशाली देखिएको छैन । अफ्रिकाको भने ब्याटिङतर्फ राम्रा खेलाडी छन् । जसका डिकक, मिलर लगायतका अन्य राम्रा हिटरहरूको बाहुल्यता देखिन्छ ।
त्यसै गरी दोस्रो सेमिफाइनल खेल भारत र इङ्ल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजेदेखि सुरु हुने छ । भारत यस विश्वकपमा अपराजित हुँदै सेमिफाइनलसम्म पुगेको छ भने इङ्ल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउँदै सेमिफाइनलमा पुगेको छ ।
इङ्ल्याण्ड समूह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।भारतले २००७ को टी–२० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङ्ल्याण्डले भने सन् २०१० र २०२२ को विश्वकप जितेको थियो । भारत र इङ्ल्याण्डबीच अहिलेसम्म २३ टी– २० खेल भएका छन् । जसमा भारतले १२ र इङ्ल्याण्डले ११ खेल जितेका छन् ।