images

सत्ताको भोकले ओरालो लाग्दै रास्वपा !

काठमाडौं–आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को धक्का लागेको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्रीसहित महत्त्वपूर्ण मन्त्रालय सम्हालेको रास्वपा अन्ततः सरकारबाट बाहिरिनुपर्ने अवस्थामा पुगेको छ । पार्टी स्थापनाको छोटो समयमै संसद्को निर्णायक शक्ति बनेको रास्वपा एकाएक कमजोर बन्न पुगेको हो । काँग्रेस–एमालेको समीकरणले रास्वपाको बार्गेनिङ पावरलाई शून्यमा पु¥याइदिएको छ ।

कांग्रेसलाई बाहिर राखेर एमालेसहितको गठबन्धनमा रास्वपा निर्णायक शक्तिको रूपमा थियो । अझ रास्वपा सरकारबाट बाहिरिँदा सरकार नै ढल्ने अवस्था थियो । यही बार्गेनिङ पावरका कारण एमाले–माओवादी रास्वपालाई गृह मन्त्रालय दिन बाध्य त भएका थिए । सहकारी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेमाथि कांग्रेसले प्रश्न उठाउँदा एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम् ढाल बनेर उभिएका थिए । तर, अब राजनीतिक परिदृश्य फेरिएको छ । काँग्रेस एमाले मिल्दा सामान्य बहुमत मात्र होइन दुई तिहाइ मतका लागि पनि रास्वपा आवश्यक पर्दैन । त्यसैले शक्तिको शिखरमा रहेको रास्वपा एकाएक पाखा लाग्ने स्थितिमा पुगेको छ । नयाँ समीकरण बनेपछि रास्वपाले पर्ख र हेरको रणनीति बनाएको छ ।

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने एमाले र काँग्रेस सत्ता स्वार्थमा देखिएको आरोप लगाए ।उनले नाम मात्रैको राष्ट्रिय सहमतिको सरकारको हवाला दिएको बताउँदै यदि साँच्चै त्यो मुद्दा हो भने रास्वपाको समेत समर्थन रहने बताए । उनले संविधानमा भएका त्रुटिहरूलाई संशोधन गर्दै जनतालाई अधिक अधिकार प्रत्याभूति रहेमा आफ्नो समर्थन रहने बताए ।

पुराना दलका गतिविधिबाट वाक्क दिक्क भएका मतदाताले ठुलो अपेक्षासहित रास्वपालाई मत दिएका थिए । जसका कारण रास्वपा स्थापनाको छोटो समयमा नै संसद्को चौथो शक्तिको रूपमा उदय भएको थियो । संसद् प्रवेशसँगै रास्वपाका नेताहरूमा देखिएको सत्ताको भोकले भने जनताको मतको उपेक्षा भएको टिप्पणी हुन थालेको छ । अर्थात् रास्वपाबाट नागरिकले जे अपेक्षा गरेका थिए त्यो पूरा हुन सकेन । बरु रास्वपा सभापति रवि लामिछाने सरकारी लगायतका प्रकरणमा तानिए । अर्कोतर्फ सत्ता स्वार्थका लागि लामिछानेले पटक–पटक बोली फेर्दा उनीमाथिको विश्वसनीयता पनि गुम्दै गएको छ । जसलाई रास्वपा महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदनले पनि पुष्टि गर्छ । सत्ता र शक्तिमा रमाएको रास्वपालाई एमाले–कांग्रेसको मिलनले भने धक्का दिएको छ । यसलाई लामिछानेले स्वभाविक रूपमा लिएका छैनन् । उनले भ्रष्टाचारका फाइल खुलेपछि निश्चित व्यक्तिलाई जोगाउनका लागि सत्ता समीकरण फेरबदल भएको दाबी गरेका छन् ।

रास्वपा सभापति समेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भने,रातारात जे भएको छ, केही भन्नुपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’

उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठुला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । लामिछानेले भने, ‘संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको रु त्यति पनि बुझ्न सकिँदैन त ।’

लामिछानेको यो भनाइले एमाले र काङ्ग्रेससँग रविको सम्बन्ध राम्रो छैन भन्ने स्पष्ट पारेको छ । अर्कोतर्फ यसअघि रविलाई काखी च्यापेका एमाले अध्यक्ष ओलीले अझै पनि माया गर्छन् या गर्दैनन् त्यो त भविष्यले नै देखाउला । राजनीतिक रूपमा भने अव एमालेलाई तत्कालका लागि रास्वपाको आवश्यकता पर्ने देखिँदैन । रास्वपाले पनि तत्काल सरकारबाट नबाहिरिने र अन्तिम समयसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई साथ दिने निर्णय गरेको छ । यसले पनि रास्वपा एमाले भन्दा पनि सत्तासँग निकट छ भन्ने स्पष्ट पारेको छ । दुई पटक सत्तामा पुगेर पनि अपेक्षाकृत काम गर्न नसकेको रास्वपाको अबको बाटो के हुने हो रु भन्ने बहस पनि सुरु भएको छ ।