images

सबैबाट एमालेमाथि प्रहार भइरहेको छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा पनि आफ्नो पार्टीमाथि सबैतिरबाट प्रहार भईरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दूर्भाग्य भएको जिकीर गरे ।

शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवि परिषद केन्द्रिय समिति बैठकमा बोल्दै ओलीले जनतालाई भ्रममा पार्न सफल शक्तिहरुले अहिले पनि सत्ता कब्जा गरिरहेको बताए । त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीविहरुलाई आग्रह समेत गरे ।

अध्यक्ष ओलीले जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्वहरुबाट जनतालाई मुक्त गराउन बुद्धिजीविहरुले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे ।

अध्यक्ष ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको दोहोर्‍याए । उहाँले जनताको चेतनास्तरमाथि उठाउने काममा बुद्धिजीविहरुले ध्यान दिनुपर्ने बताए ।