images

सहकारी र राहदानी प्रकरणमा रविमाथि छानबिन गर्न समिति बनाउनुपर्छः मुकुल ढकाल

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा। मुकुल ढकालले रवि लामिछानेको कब्जाबाट पार्टीलाई छुटाएरै छोड्ने बताएका छन् ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । उनले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट नभई रवि लामिछाने क्लबबाट मात्रै निस्कन गरिएको जिकिर गर्दै आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको बताए । उनले सहकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि सहकारीको रकम ठगी प्रकरणमा अनुसन्धान हुनुपर्ने र त्यसका लागि पार्टीको केन्द्रीय समिति सदस्यहरूले स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरे । उनले दुई वटा राहदानीको विषयमा पनि पार्टीले लामिछानेउपर छानबिन समिति बनाउनुपर्ने माग गरे । छानबिन समितिमा स्वतन्त्र व्यक्ति राख्नुपर्ने बताए ।

उनले भने, ‘म अहिले पनि महामन्त्री छु र हो । मलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट होइन रवि लामिछाने क्लबबाट मात्रै निस्कन गरिएको हो । म अहिले पनि गएर पार्टीको महामन्त्रीको जुन कुर्सी छ, त्यसमा बस्न सक्छु । रास्वपालाई रवि लामिछाने क्लबको रूपमा कब्जा गरिएको छ । पार्टी एलिडरको कब्जामा गइसक्यो । आज पार्टी कुनै एलिडको कब्जामा जाँदैमा, रवि लामिछानेको कब्जामा जाँदैमा पार्टीलाई माया गर्ने घण्टीवाहक साथीहरूले डराउनु पर्दैन । यो कब्जाबाट हामी थुत्छौँ । सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्छ भनेर सर्वोच्च अदालतले फैसला गरिसकेको छ । राय नैतिकताको छुट दिने की राजीनामा दिने भन्ने रायमा मात्रै मत बाझिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले अब पार्टीको धारणा बनाउनुपर्छ । त्यसका लागि स्वतन्त्र उच्चस्तरीय छानबिन समिति बनाउनु पर्छ । त्यसमा स्वतन्त्र व्यक्तिलाई राख्नुपर्छ । संसद्को छानबिन समितिले पुग्दैन । पार्टीभित्रबाट रवि लामिछानेउपर छानबिन समिति बनाउनु पर्छ । पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ ।’

आफूलाई राजनीतिक दलको मूल्यमान्यता विपरीत गएर निलम्बन गरिएको र उपसभापतिबाट निलम्बनको पत्र दिन अवैधानिक रहेको जिकिर गरे ।