images

७ हजारभन्दा बढी स्थानीयहरु गराए निःशुल्क आँखा जाँच

सिरहा-तिलगंगा आँखा प्रतिष्ठान र धनगढीमाई नगरपालिकाको सहकार्यमा गत माघ २५ गते देखि नगरको १ देखि १४ वडासम्म समुदाय स्तरमा संचालित आँखा शिविरबाट स्क्रिनिङ गरी पत्ता लगाएका ५३५ मोतिया बिन्दुको बिरामी मध्ये ५२४ जनाको सफल अप्रेशनपछि नगरवासीमा खुसी भएका छन् ।

धनगढीमाई नगरपालिका–२ निवासी दलित समुदायका हुली रामको आँखा केही महिना यता दुख्न थालेको थियो। अस्पताल जाने खर्च नभएपछि उनी उपचार गराउन पाएका थिएनन्। गाउँमै शिविर आएको खबर सुनेपछि उनी निकै खुसी भएका थिए।

शिविरमा जाँच गराए। उनको आँखामा मोतिबिन्दु देखियो। त्यही निःशुल्क शल्यक्रिया गरिदिने सुनेपछि उनी हर्षित भए। उनी मात्रै होइन सोही नगरपालिका–११ का गोविन्दबहादुर श्रेष्ठ आँखा देख्दैन थिए। उनी पनि उपचार पाउँदा खुसी भएका छन्।

नगरपालिकाले तिलगंगा अस्पताल काठमाडौंको सहकार्यमा वडा वडामा शिविर सञ्चालन गरेपछि यहाँका ७ हजारभन्दा बढी स्थानीयहरुले निःशुल्क रुपमा आँखा जाँच गराउन पाएका छन्। ५३५ जनामा मोतिबिन्दु देखापरेपछि उनीहरुले निःशुल्क रुपमै यही शल्यक्रिया गराएका छन्।

आर्थिक अवस्था कमजोर, अस्पताल आउजाउ गर्ने सहयोगी नपाएर वृद्ध र अशक्त मानिसले उपचार गराउन पाएका थिएनन्। ‘जनताको समस्या बुझेर तिलगंगा अस्पतालसँग सहकार्य गरी शिविर सञ्चालन गराएका छौँ,’ धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतोले भने,‘नगरबाट विरामी र कुरुवालाई चिया, पाउरोटी र दूध उपल्बध गराएका छौँ।’

मेयर महतोका अनुसार तिलगंगा आँखा अस्पताल, मानवीय कल्याणकारी फाउण्डेशन र युएई दुतावास (दुवै एड)ले आग्रहलाई स्वीकार गरी नगरवासीको आँखा उपचार गर्न मद्दत गरेका छन्। ‘मोतिबिन्दुले न्यून दृष्टि र अन्धोपन गराउँछ। यो समस्या तराई क्षेत्रमा बढी देखिन्छ। त्यही देखेर हामी स्रोत खोजी ठाउँठाउँमा जतचेतना जगाउने र शिविर गर्न प्रयोजना बनाएर उपचार गर्ने गरेका छौँ,’तिलगंगा अस्पतालका डा. कृष्णमोहन श्रेष्ठले भने,‘शिविरबाट हजारौँ सर्वसधारण लाभान्वित भएको छ। उनीहरु खुसी देखिएका छन्।’

‘वडा वडामा शिविर गरी स्कर्निङ्ग गरेका विरामीलाई उपचार गरेका छौँ। उपचारपछि आँखालाई कसरी जोगाउने, हेरचाहको तरिका र खानेकुराको विषयमा सबैलाई जानकारी दिएका छौँ,’ परियोजना अधिकृत महेश पराजुलीले भने,‘औषधी र चस्मा पनि विरामीहरुलाई निःशुल्क दिइएको छ।’