images

चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । लण्डन क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० ले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजा सहित अन्तिम ८ मा प्रवेश गरेको हो ।

घरेलु मैदान स्टामफोर्डब्रिजमा रहेको खेलमा चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङ र काइ हभार्ट्जले गोल गरे ।

खेलको ४३ औं मिनेटमा स्टर्लिङले गोल गर्नुअघि चेल्सीले धेरै अवसरलाई खेल फालेको थियो । डिबक्समा प्राप्त बललाई स्टर्लिङले पोस्टको दिशा दिएका थिए ।

दोस्रो हाफमा हभार्ट्सले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पुनरागमन जित दिलाउन भुमिका खेले । डिबक्सभित्र ह्याडबलमा चेल्सीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।

घरेलु मैदानमा पुनरागमन जित निकाल्ने क्रममा चेल्सीले डर्टमण्डको सबै प्रतियोगितामा १० को अपराजित यात्रालाई टुङ्गो समेत लगायो ।