images
images

११ वर्षपछि भक्तपुरमा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा

भक्तपुर, ७ साउन । जिब्रो छेड्ने जात्रा भन्नेबित्तिकै बिस्केट जात्राका अवसरमा वैशाख २ गते मध्यपुरथिमिको बोडेमा सञ्चालन हुने जिब्रो छेड्ने जात्राको सम्झना आउँछ । धेरैलाई मध्यपुरथिमिमा नै इन्द्र जात्राको भोलिपल्ट पनि जिब्रो छेड्ने जात्रा हुन्छ भन्ने जानकारी छैन । किनकी मध्यपुर थिमिमा इन्द्रजात्राको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्राले नियमितता नपाएको ११ वर्ष भइसकेको छ ।

मुख्यतः आर्थिक अभावका कारण मध्यपुरथिमिको बालकुमारी क्षेत्रमा इन्द्रजात्राका अवसरमा सञ्चालन हुने जिब्रो छेड्ने जात्राले निरन्तरता पाउन सकेको छैन । सो जात्रा नियमितरुपमा सञ्चालन नहुँदा यो लोप हुने अवस्थामा पुगेको छ । यो जात्रा पछिल्लो पटक ११ वर्षअघि विसं २०६३ मा सञ्चालन भएको थियो । त्यसअघि विसं २०५९ र २०५३ मा यो जात्रा सञ्चालन भएको पाइन्छ ।

इन्द्रजात्राको भोलिपल्ट हुने जिब्रो छेड्ने जात्रालाई स्थानीय भाषामा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा अर्थात् काठमाडौँ पूर्णिमाको जिब्रो छेड्ने जात्रा भनिन्छ । भाद्र शुक्ल पूर्णिमाको अवसरमा काठमाडौँमा प्रसिद्ध इन्द्रजात्रा हुने भएकाले सो पूर्णिमालाई येंया पुन्हि अर्थात् काठमाडौँ पूर्णिमाको संज्ञा दिइएको हो ।

एघार वर्षपछि यस वर्ष मध्यपुरथिमिमा येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरवासी तथा विभिन्न सामाजिक संघसंस्थाको सहयोगमा यस वर्ष आगामी भदौ २१ गते मध्यपुरथिमि नगरपालिका–५ का २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेड्ने भएपछि ११ वर्षपछि यो जात्रा सञ्चालनमा आउन लागेको हो ।

जात्रालाई व्यवस्थित एवं मर्यादित ढंगबाट सञ्चालन गर्न येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा व्यवस्थापन समितिसमेत गठन गरेको छ । जिब्रो छेड्ने जात्राका लागि करिब एक महिना अगाडिदेखि नै तयारी गर्नुपर्ने समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले बताए ।

जिब्रो छेड्ने नातु (सुइरो) बनाउनका लागि करिब एक महिना अगाडि नातु बनाउने नकर्मीलाई खबर गर्न जानुपर्ने प्रचलन रहेको छ । नातु बनाउन खबर गर्न जाँदा जात्राको परम्पराअनुसार रातो भाले, सम्येबजीसहित नकर्मीको घरमा जिब्रो छेड्ने व्यक्ति जाने र नकर्मीले नातु बनाइसकेपछि तीन हप्ताजति शुद्ध तोरीको तेलमा नातुलाई डुबाएर राख्नुपर्ने प्रचलनसमेत रहेको समितिका अध्यक्ष श्रेष्ठले बताए ।

जिब्रो छेड्न आठ दिन अगाडि द्यः दुसालेगु अर्थात् देवता भित्र्याउने चलन रहेको छ । त्यसका लागि बालकुमारी मन्दिरमा ११ वटा किसली (माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग) चढाउनु पर्दछ र रातो भालेको बलि दिएर बालकुमारीको साधना गर्नुपर्दछ । जिब्रो छेड्ने जात्राको चार दिनअघि थिमिको लाय्कूका पःमाहरुले हनुमानढोका दरबारमा गएर राज खड्ग लिएर आउने र सो खड्गलाई जात्रामा डबलीमा राख्ने प्रचलनसमेत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । इन्द्र जात्राको दिन बालकुमारीमा रातो भालेको बलिसहितको पूजागरी छ्वयला ब्वः भोज खुवाउने चलन रहेको छ ।

त्यसको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गर्ने परम्परा रहेको छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन ब्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारीदेखि दिगुभैरवसम्मको स्थानमा बत्ती दिन जानु पर्दछ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजापश्चात् जिब्रो छेड्ने व्यक्तिमा दैवी शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काइ उल्टो हिँडाइ डबलीमा पु¥याइन्छ ।

डबलीमा सयौँ जनमानसलाई देखाएर नकर्मीले बनाएको १० इन्च लामो सुइरोबाट कमीनायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्यं (महादिप) बोक्न लगाइ उसको इच्छाअनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा स्थानीय व्यक्ति पनि “ताकुँ म्येः ख्वामसिसें भ्वय् नय्” भन्दै सँगसँगै नगरपरिक्रमा गर्दछन् । जिब्रो छेड्ने व्यक्तिको इच्छाअनुसार पहिला चाँगुनारायण तथा पशुपतिसम्म पनि परिक्रमा गराएको इतिहास पाइन्छ ।

इच्छ्याएको ठाउँमा परिक्रमा गरेपछि बालकुमारी मन्दिरमा पुगी कमीनायोले सो सुइरो निकालिन्छ । सुइरो निकालिसकेपछि जिब्रोमा भएको खालमा नासःद्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । अनि सुइरोलाई बालकुमारी मन्दिरभित्र ठोकिन्छ । बालकुमारी मन्दिर परिसरमा सुइरो निकालिसकेपछि जिब्रो छेड्ने व्यक्तिले घर गई मान्यजनबाट सगुन लिन्छ । जात्राको भोलिपल्टको बिहान नातु पूजा भनि द्यःलित तवनेगु (विसर्जन पूूजा) का लागि बालकुमारीमा पूजा गर्न जानुपर्ने प्रचलन रहेको छ ।

समितिका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले पौराणिक कथनअनुसार परापूर्वकालमा थिमिका स्थानीय बासिन्दालाई भूतप्रेत, ख्याकजस्ता राक्षसले दुःख दिन थालेपछि थिमिका जनतालाई सो दुःखबाट छुटकारा दिलाउन थिमिका आरध्यदेवी बालकुमारीको साधना गरेपश्चात् भाद्रशुक्ल पूर्णिमाका दिन एक व्यक्तिलाई सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गराएपछि भूतप्रेत र राक्षस यस ठाउँमा यस्ता साहसिक व्यक्ति रहेको भन्दै भागेको जनश्रुति रहेको बताए ।

थिमिको जिब्रो छेड्ने जात्रामा विसं २०५३, २०५९ र २०६३ मा गरी तीन पटक जिब्रो छेडेका कृष्ण नानिचा श्रेष्ठले परम्परागत संस्कृति लोप हुन नदिन स्थानीय बासिन्दाका साथै सरकारी निकाय र स्थानीय निकाय सबैले चासो दिनुपर्ने बताए ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS