images

२०७५ का १०१ फिल्मको अवस्था यस्तो रह्यो

वर्ष २०७५ नेपाली फिल्म क्षेत्रका लागि आंशिक सफलता र अध्यधिक असफलतको वर्ष सावित भएको छ। गएको वर्ष २०७५ पोखराबाट बनाइएको गुरुङ भाषाको फिल्म मनांगे नानी, बलिउड अभिनेत्री प्रियंका चोपडाले दार्जलिङमा सुटिङ गराई निर्माण गरेको पाहुना : द लिटिद भिजिटर्स, नेपाली भाषामा डब गरी रिलिजमा ल्याइएको जंगभूमि र केही भिडियो फिल्मसहित कुल १ सय १ फिल्म सार्वजनिक प्रदर्शनमा आए। २०७५ साल वैशाख ७ गते रिलिजको खाता खोल्ने फिल्म स्वर्ग मेरो गाउँदेखि यस वर्षको अन्तिम रिलिज फिल्म हिजो शुक्रबार रिलिजमा आएको ए मेरो हजुर ३ र यात्रा : अ म्युजिकल भ्लगसम्मको संख्या हो।

गत साल २०७४ को तुलनामा यो वर्षलाई फिल्मी क्षेत्रले दुखदरूपमा लिनुपर्छ। त्यो किनभने वर्ष २०७४ मा ८४ फिल्म रिलिजमा आउँदा २० फिल्मले व्यापारिक सफलता हासिल गरेका थिए भने यस वर्ष व्यापारिकरूपमा सफल फिल्मको संख्या १४ पुगेको छ। यो वर्ष रिलिजमा आएका फिल्महरूको व्यापारिक रेकर्ड हेर्दा एभरेज, हिट, सुपरहिट र सुपर डुपर हिट हुन सफल फिल्मको संख्या १४ देखिएको छ।

वैशाख महिनामा रिलिजमा आएका ८ फिल्ममध्ये स्वर्ग मेरो गाउँ, डमरुको डण्डीबियो, भोर, लम्फु, हिरोज र मनागें नानी फ्लप हुन पुगे भने नायिका केकी अधिकारीले पहिलोपटक निर्माण गरेको फिल्म कोहलपुर एक्सप्रेस र मिलन चाम्सको ≈याप्पी डेजले मात्र एभरेजको व्यापार गर्न सक्यो।

जेठ महिनामा पनि ८ फिल्म रिलिजमा आए। तीमध्ये कुनै पनि फिल्मको व्यापार फस्टाउन सकेन। यो महिना रिलिजमा आएका हैरान, सुनकेशरी, अफिसर, बेबी आइ लभ यु, हरि, अमेरिका ब्वाइज, चंगा र मट्टी माला सबै फिल्मले घाटाको व्यापार सहनुपर्यो। असार महिनामा ७ फिल्म रिलिज भए। जसमध्ये मिलन चाम्सको बोबीले एभरेजको व्यापार गर्न सफल भयो भने तिमी हुन्छौ जहाँ जहाँ, ए सोल्टिनी, चोखो माया, बाबु कान्छा, वीरांगना र यो पागल मन फ्लप भए। साउनमा नेपाली फिल्मको भेल नै बग्यो। यो भेलले फिल्मलाई नै डुबाइदियो। भेलकै गतिमा एकै महिनामा एक दर्जन फिल्म रिलिजमा आए। अभिनेता आर्यन सिग्देलको फिल्म कायरांले एभरेजको व्यापार गर्यो भने बाँकी ११ फिल्म चक्कर, पण्डित बाजेको लौरी, भैरे, सुकुल गुण्डा, रोमियो एन्ड मुना, चि मुसी चि, झमक बहादुर, टिनएज, कहीं कतै र पिरिम पर्या छन् फ्लप भयो।

सिनेमा रिलिजको भेल भदौमा पनि रोकिएन। एकै महिना १० फिल्म रिलिज भए। जसमध्ये विकासराज आचार्यको हिट सिरिज नाई नभन्नु ल ५ सुपरहिट भयो भने रामकहानीले एभरेजको व्यापार गर्यो। बाँकी ८ फिल्म जय शम्भो, बार्हमासे, ब्ल्याक, मिस्टर भर्जिन, रेनी, मेरी मामु, रोज र साली कसको भेनाको घाटामा गए। असोज महिना चाडबाडको महिना थियो, क्यालेन्डरमा रातो चिन्≈ धेरै थिए। त्यसैले यो महिना ९ फिल्म रिलिजमा आए। हिट सिरिज छक्का पञ्जा–३ ले पहिलेजस्तै सुपरहिटको व्यापार गर्यो भने लामो समयपछि फिल्म निर्माण र निर्देशनमा फर्किएका अशोक शर्माको जय भोलेले हिटको व्यापार गर्यो। इन्टु मिन्टु लण्डनमा र धुम–३ ले एभरेजको व्यापार गरे। बाँध मायाले, छिरिङ, अनुराग, कथा काठमाण्डु र निर्जलाले घाटाको व्यापार सहनुपर्यो।

कात्तिक महिनामा आएका पाँचै फिल्म फ्लप भए। रेखा थापाको मालिकादेखि चंगा चेट, दैलो, अनुग्रह र गुनगुनसम्मले व्यापारिक सफलता पाउन सकेनन्। मंसिरको छोटो महिनामा पनि ९ फिल्म रिलिजमा आए। तर प्रसादले एभरेजको व्यापार गरे पनि कोइला, ड्रिम गर्ल, शान्ति, पाहुना : द लिटिल भिजिटर्स, झिल्के, सुश्री सम्पत्ति, कथा ७२ र डोली फ्लप भए। पुसमा रिलिज भएका ६ फिल्म जंगभूमि, गोल, जे सुकै होस्, जय श्री दाम, भिलेन र चौका दाउ व्यापारिक हिसाबले सफल हुन सकेनन् भने माघमा आएका ८ फिल्म गरुड पुराण, आरोप, बैना, सय कडा दश, गोपी, रणवीर, समर लभ र साथी तिमी नै हौ पनि सफल हुन सकेनन्।

गएको फागुन महिनामा ९ फिल्म रिलिज भए। जसमध्ये क्याप्टेन लगानी उठाउन सफल देखियो भने बुल बुलले एभरेजको व्यापार गर्यो। बाँकी ७ फिल्म जोकर (जादुगर २), फिंगर प्रिन्ट, ब्वाइफ्रेन्ड, रुमालै छ चीनो, द ब्रेकअप, खाग र अदालत घाटामा रहे। वर्षको अन्तिम महिना चैत महिनामा हिजो शुक्रबार रिलिजमा आएका ए मेरो हजुर–२ र यात्रासमेत गरी ११ फिल्म रिलिज भएका छन्। एक दिनअगाडि मात्र रिलिजमा आएका ए मेरो हजुर–३ र यात्रा : अ म्युजिकल भ्लगको व्यापारिक रिपोर्ट आउने समय भइसकेको छैन भने अघिल्लो साता रिलिज भएको लभ स्टेसनले एभरेजको व्यापार गरेको देखिएको छ। साइलीले एभरेजको व्यापार गरेको छ भने द म्यान फ्रम काठमाण्डु, पुरानो बुलेट, जानी नजानी, प्रेमलीला, एलान, कागजपत्र र शुभ लभ व्यापारिक हिसाबले सफल हुन सकेनन्।

रिलिजको हिसाबले वर्ष २०७३ मा २०७२ मा भन्दा बढी फिल्म बजारमा देखिएको थियो। वर्ष २०७२ मा नेपालीमा डब गरेर रिलिज गरिएका भोजपुरी र नेपाली भाषामै बनेका गरी ८४ फिल्म बजारमा आएका थिए भने वर्ष २०७३ मा कुल ८९ फिल्म बजारमा देखिएका थिए। त्यसअघि वर्ष २०७१ मा ९७ फिल्म रिलिज भएका थिए। वर्ष २०७२ मा १४ फिल्मले व्यापार गरेको देखिएको थियो। गत वर्ष भने ८४ फिल्म आउँदा २० फिल्म सफल भएका थिए।