ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

२०७५ को कला क्षेत्रका चर्चित घटना

२०७५ को कला क्षेत्रका चर्चित घटना

स्पेस संवाददाता

बैशाख

  • गत वैशाखमा संगीतकर्मीहरूले सार्वजनिक यातायातमा आफ्ना गीतसंगीत बजाएबापत रोएल्टी पाउने व्यवस्थाको सुरुआत भयो। यातायात व्यवस्था विभागले जारी गरेको नयाँ यातायात व्यवस्थापन कार्यविधि अनुसार सार्वजनिक सवारीसाधनका धनीहरूले संगीतसम्बन्धी रोयल्टी बुझाउनुपर्ने व्यवस्था गर्यो। रुट पर्मिट लिँदा, नयाँ सवारी दर्ता गर्दा, सवारी नामसारी गर्दा र सवारी नविकरण गर्दा रोयल्टी बुझाएको प्रमाण पनि पेस गर्नुपर्ने व्यवस्था गर्यो। जसले गर्दा गीतसंगीत क्षेत्रमा संलग्न सर्जक तथा गायक गायिकाको कमाइको स्रोत बढे पनि हालसम्म व्यवस्थित भने हुन सकेको छैन।
  • वैशाख १३ गते राजधानीको बौद्धस्थित होटल हायातको रक्स गार्डेनमा छैटौं एनएफडीसी अवार्ड सम्पन्न भयो। लगातार पानी परेका कारण बिथोलिन पुगेको समारोहमा सर्वोत्कृष्ट फिल्मको अवार्ड शत्रु गते, निर्देशकको अवार्ड लिलीबिलीबाट मिलन चाम्स, अभिनेताको अवार्ड कृ बाट अनमोल केसी र अभिनेतृको अवार्ड ब्लाइन्ड रक्सबाट बेनिशा हमालले चुमे।
  • वैशाख २३ गते नेपाल सरकारको सरसफाइ दूत रहेका हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, सफाइ अभियन्ता खेम शर्मा, बागमती सफाइ अभियन्ता अर्जुन धरेलले वीर अस्पताललाई नमुना अस्पताल बनाउने उद्देश्यका साथ १५ दिने अस्पताल सफाइ अभियान शुरू गरे। तर अस्पतालको दुरावस्थाका कारण उनीहरूले रङरोगनलगायतका थप कार्य गरेर वीर अस्पतालको स्वरूप नै परिवर्तन गरी नमुना अस्पतालको रूपमा विकास गरे।
  • वैशाख २४ गते बलिउड नायिका करिश्मा कपुर १५ वर्षपछि काठमाडौं आइन्। उनी इन्द्रचोकको मेरिगोल्ड ज्वेलर्सको दरबारमार्ग शाखा शुभारम्भ गर्न आएकी थिइन्।
  • वैशाख ३० गते निर्माताहरूको शेयर बाँडफाँड हेरफेरको विषयमा निर्माता र प्रदर्शकबीच सहमति भयो। निर्माताहरूको छाता संगठन नेपाल चलचित्र निर्माता संघ र प्रदर्शकको छाता संगठन नेपाल चलचित्र संघबीच विभिन्न चरणमा भएको वार्तापछि भएको सहमतिअनुसार फिल्म रिलिज भएको पहिलो साता निर्माताले ५० र प्रदर्शकले ५० प्रतिशत शेयर बाँडफाँड गर्न थाले।
  • दोस्रो साता निर्माता ४५ र प्रदर्शकले ५५ प्रतिशत, तेस्रो साता निर्माताले ४० र प्रदर्शकले ६० प्रतिशत शेयर पाउन थाले। चौथो सातादेखि भने निर्माताको हातमा ३५ र प्रदर्शकको हातमा ६५ प्रतिशत रकम हात पर्न थाल्यो। त्यसअघि निर्माताले मल्टिप्लेक्स हलहरूबाट पहिलो साता ५०, दोस्रो साता ४२ दशमलव ५, तेस्रो साता ३७ दशमलव ५ र चौथो साताबाट ३० प्रतिशत शेयर पाइरहेका थिए।

जेठ

  • जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपियाँसहित चलचित्र निर्माता तथा वितरक माधव वाग्लेसहित ६ जना पक्राउ परे। फिल्म चंगा चेटको सुटिङका क्रममा उक्त नक्कली नोट बाहिरिएपछि वाग्लेसहित ६ जनाले राजधानीका बजारमा उक्त नक्कली नोट सप्लाई गर्ने गरेको भन्दै प्रहरीले छापा मारेको थियो। पछि वाग्ले धरौटीमा छुटे।
  • जेठ ५ गते सम्पन्न नेपाल नृत्यकार संघको दोस्रो महाधिवेशनबाट नृत्य निर्देशक वसन्त श्रेष्ठ सर्वसम्मतरूपमा २ वर्षे कार्यकालका लागि अध्यक्ष निर्वाचित भए।
  • जेठ १० गते राजधानीमा सम्पन्न दसौं डी सिने अवार्डमा कृ सर्वोत्कृष्ट फिल्म, लिलीबिलीबाट मिलन चाम्स सर्वाेत्कृष्ट निर्देशक, कृबाट अनमोल केसी अभिनेता र पञ्चायतबाट निता ढुंगानाले अभिनेत्रीको अवार्ड चुमे।
  • जेठ १९ गते बलिउड निर्देशक सुवास घई मैतिदेवीस्थित कान्तिपुर फिल्म एकेडेमी र मुम्बईको फिल्म स्कुल विस्ली उड इन्टरनेशनलको आयोजनामा भएको फिल्मसम्बन्धी सेमिनारमा सहभागी हुन लेखक अन्जुम जाजबलीसहित नेपाल आए।

असार

  • गत असार महिनामा बलिउड नायिका जुही चावला विभिन्न स्थान भ्रमणका लागि व्यक्तिगतरूपमा नेपाल आइन्। उनले काठमाडौं, भक्तपुर, धुलिखेललगायतका स्थानको भ्रमण गरेकी थिइन्।
    -असार ३० गते अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरे। इन्गेजमेन्टपछि आंयका भएको यो जोडी आगामी असारमा विवाह बन्धनमा बाँधिने भनिएको छ।

साउन

  • साउन १ गतेदेखि नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि बहुप्रतिक्षित बक्स अफिस प्रणाली लागू भयो। तर यो प्रणाली हालसम्म पनि उपलब्धिमूलक सिद्ध भने हुन सकेको छैन।
  • साउन १९ गते डान्स रियालिटी शो बुगी वुगीको नेपाली संस्करणको उपाधि चुम्दै सर्लाहीकी १८ वर्षीया कविता नेपालीले २५ लाख रुपियाँ पाइन्। जसमा फस्ट रनर्सअप प्रगति पुनले ६ लाख र सेकेन्ड रनर्सअप सरोज मोक्तानले ४ लाख रुपियाँ जितेका थिए।
    -साउन २३ गते हेडौंटास्थित ओम्याक्स सिनेमा हलमा आगलागी भयो। करिब ३ करोड लगानीमा निर्मित सुविधा सम्पन्न हल डेढ घन्टामै आगोले नष्ट गरिदिएको थियो।

भदौ

  • भदौ १६ गते सम्पन्न नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको प्रथम साधारणसभाले अध्यक्षमा केपी पाठकलाई सर्वसम्मत चयन गर्यो। सभाले ७ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि गरेको निर्वाचनमा उपाध्यक्षमा विजयरत्न तुलाधर, महासचिवमा राजु केसी, सचिवमा राजु भण्डारी, कोषाध्यक्षमा कमलप्रसाद शर्मा तथा सदस्यहरूमा विश्वराज सापकोटा र रसिक पाठकलाई सर्वसम्मत चयन गर्यो।
  • भदौ ३१ गते राजधानीमा सम्पन्न एलजी सिने सर्कल फिल्म अवार्ड २०७५ मा उत्कृष्ट फिल्मको अवार्ड तिमीसँग ले जित्यो भने यही फिल्मबाट नाजिर हुसेन अभिनेता र पञ्चायतबाट निता ढुंगाना उत्कृष्ट अभिनेत्री घोषित भए। निर्देशकको अवार्ड नवराज बुढाथोकीले फिल्म भुइँमान्छेबाट चुमे। बलिउडका स्टार गोविन्दाको विशेष उपस्थितिमा सम्पन्न अवार्ड समारोहमा निर्देशक किशोर रानालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।
  • भदौको अन्तिम साता जापानमा पहिलोपटक सूर्य इन्टरनेसनल अवार्ड २०१८ सम्पन्न भयो। टोकियोस्थित नाकानो जिरोमा सम्पन्न समारोहमा अनलाइन भोटिङ र लोकप्रियताका आधारमा अवार्ड प्रदान गरिएको थियो भने अभिनेत्री बसुन्धरा भुसाललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो।

असोज

  • असोज २१ गते सांगीतिक क्षेत्रमा महत्वपूर्ण अवार्डका रूपमा हेरिएको २०औं संस्करणको इमेज अवार्ड होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भयो। कुल १८ विधामा भएको अवार्ड गायक कमल खत्रीको जाउँला रेलैमा बोलको गीत सर्वोत्कृष्ट गीत सावित भयो भने यही गीतबाट उनले संगीतकारको अवार्ड चुमे। समारोहमा संगीतकार प्रकाश गुरुङलाई ४ दशकदेखि सांगीतिक क्षेत्रमा योगदान पुर्याएबापत नगद १ लाख रुपियाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

मंसिर

  • मंसिर ४ गते अभिनेता विपीन कार्की मोटरसाइकल दुर्घटनामा परे। फिल्म जात्रैजात्राको सुटिङमा जाने क्रममा कालीमाटीमा उनी सवार मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिँदा उनको खुट्टा भाँचिएको थियो।
  • मंसिर ७ गते विन्ध्यवासिनी म्युजिक अवार्डको नवौं संस्करण नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भयो। विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित समारोहमा संगीतकार शक्तिबल्लभ श्रेष्ठलाई नगद १ लाख रुयियाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो। समोरोहमा सुगम संगीत, पप, दोहोरी तथा फिल्मी विधाका गीतसंगीतलाई अवार्ड प्रदान गरिएको थियो।
  • मंसिर १५ गते नेपाल समाचारपत्रको सहप्रकाशन सिने मासिक कामनाको अयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा लक्स कामना फिल्म अवाड्र्स २०७५ सम्पन्न भयो। हास्यव्यंग्य कलामार्पmत योगदान पुर्याएको हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा पर्दापछाडिको कलाकारतर्पm संगीतकार शम्भुजित बासकोटालाई नगद १ लाख रुपियाँ कीर्तिमय दीर्घ योगदान सम्मानबाट सम्मान गरिएको थियो। प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा प्रदान गरिएको अवार्ड समारोहमा लिलीबिलीले सर्वोत्कृष्ट फिल्म र मिलन चाम्सले निर्देशक, कृबाट अनमोल केसीले अभिनेता तथा ब्लाइन्ड रक्सबाट वेनिषा हमालले अभिनेत्रीको अवार्ड चुमेका थिए।
    -मंसिर १८ गते लोकप्रिय हास्य सिरिज छक्का पञ्जा–३ ले प्रदर्शनको ५१औं दिन मनायो।
  • मंसिर २१ गते हिट्स नेपालले २२औं हिट्स एएफएम म्युजिक अवाड्र्स २०७५ आयोजना गर्यो। गायिका बानिका प्रधानद्वारा स्वरबद्ध जानी नजानी बोलको गीत वर्ष गीत सावित भयो भने बानिकाले यसै गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमिन्। यही गीतबाट दिनेश सुब्बा सर्वोत्कृष्ट संगीतकार बने। समारोहमा ख्यातिप्राप्त संगीतकार, गायक तथा गीतकार दीपक जंगमलाई संगीत क्षेत्रमा योगदान पुर्याएबापत लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो।

पुस

  • पुस ६ गते लोकप्रिय अन्तर्राष्ट्रिय टेलिभिजन रियालिटी शोको नेपाली संस्करण नेपाल आइडलमा कञ्चनपुरका रवि ओड दोस्रो नेपाल आइडलका विजेता भए। उनले २२ लाख रुपियाँका साथ गोल्डेन माइक र कार पुरस्कार पाएका थिए। प्रतियोगितामा विक्रम बरालले फस्ट रनर्सअप हुँदै २० लाख रुपियाँको चेक पाए भने सुमित पाठकले सेकेन्ड रनर्सअप हुँदै १२ लाखको चेक तथा अस्मिता अधिकारीले थर्ड रनर्सअप हुँदै स्कुटर पुरस्कार पाएका थिए।
  • पुसको तेस्रो साता अमेरिकाको कोलोराडोस्थित डेनबर शहरमा तेस्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८ सम्पन्न भयो। समारोह ग्लोबल नेपाली फिल्म अवार्ड र नेपाल फिल्म सोसाइटीले संयुक्तरूपमा आयोजना गरेको थियो।

माघ

  • माघ ७ गते चलचित्र विकास बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछानेले कानुनी विवाह गरे। रविले केही महिनाअघि ईश्वरी श्रेष्ठसँग सम्बन्धविच्छेद गरेका थिए भने निकिता पनि केही समयदेखि एक्लै थिइन्।
  • माघ ७ गते नायक नायिका जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले आफ्नो नामबाट परोपकारी कामका लागि आयंका फाउन्डेसन स्थापना गरेर सामाजिक कार्यमा हात हाले।
  • माघ १६ गते धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच भरतपुरको चितवनमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगंशालाका लागि राजधानीको राष्ट्रिय सभागृहमा अयोजित कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भयो। त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकायअन्तर्गत रहेको २० बिघा ६ कठ्ठा जग्गामा बनिरहेको रंगशाला २ वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।
    -माघ २२ गते चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिइन्। माघ २३ गतेदेखि लागू हुने गरी व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएकी थिइन्।

फागुन

  • फागुन २ गते भ्यालेनटाइनडेको दिन पारेर नायक नायिका संजोग कोइराला र वर्षा राउतले विवाह गरे। उनीहरू विवाहपछि संसा नामले चिनिए।
  • लोकप्रिय लोकगायक पशुपति शर्माको सार्वजनिक भएलगत्तै तहल्का मच्चाएको राजनैतिक र सामाजिक विसंगति विरुद्धको व्यंग्य गीत लुट्न सके लुट सत्ता पक्षीय तीव्र दबाबका कारण पशुपति आफैंले युट्युबबाट हटाउन बाध्य हुनुपर्यो। उनैद्वारा रचित तथा संगीतबद्व गीत शर्माकै आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको दुई दिनमै ट्रेन्डिङ ५ बाट अगाडि बढिरहेको थियो।

चैत

  • चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकबाट चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता केशव भट्टराई नियुक्त भए। अध्यक्ष भट्टराई अब २ वर्ष चलचित्र विकास बोर्डको अध्यक्ष पदमा रहनेछन्।
  • चैत ४ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर सहभागी भइन्। फिल्मी दुनियाँमा प्रवेश गरेपछि अध्ययनबाट विश्राम लिएकी करिश्माले २५ वर्षपछि अध्ययनलाई अगाडि बढाउँदै यस वर्ष एसईई दिएकी हुन्। अध्ययनबाट विश्राम लिए पनि लगातार ४ वर्ष स्कुल गएर अध्ययन गरी ४६ वर्षको उमेरमा एसईई दिएकी हुन्।