images

१६ बुँदेमा प्रचण्डकाे हस्ताक्षर : माअाेवादीकाे दुर्दशाकाे प्रमुख कडी

राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ। आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुष्पकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन्। सोह्रबुँदे लिखतमा दाहालको हस्ताक्षर एमाओवादीको दुर्दशाको पछिल्लो कडी हो। यो दुर्दशाको अर्थ हो— म हारेँ, म गलेँ, म ठाडो भएर उभिन नसक्ने भएँ, तसर्थ म अब ढल्छु।

एमाओवादी नेतृत्वलाई आफ्नो जस्तोसुकै कर्म पनि ‘ऐतिहासिक’ लाग्छ। पर्वतारोहण गरेको पनि ऐतिहासिक, पर्वतको बीचबाट फेदीतिर गुल्टिएको पनि ‘ऐतिहासिक’। पहिलेको बाह्रबुँदे लिखत पनि ‘ऐतिहासिक’, अहिलेको सोह्रबुँदे लिखत पनि ‘ऐतिहासिक’। वस्तुभित्रको सार के हो हेर्ने कर्ताका दृष्टिमा भर पर्छ। वास्तवमा बाह्रबुँदे लिखत र सोह्रबुँदे लिखतमा आकाश–जमिनको अन्तर छ। बाह्रबुँदे राजनीतिका दुई पक्षबीच बराबरीको सम्झौता हो। त्यसमा ऊबेलाको माओवादी आफ्नो वैचारिक निष्ठा, एजेन्डा, अडान र सम्मानसहित संलग्न भएको थियो। सोह्रबुँदे लिखत भने केपी डक्ट्रिनको छत्रछायामा पुष्पकमलमार्फत एमाओवादीको नग्न आत्मसमर्पण हो। सोह्रबुँदे दुई पक्षबीच समानता र आपसी सम्मानमा आधारित सम्झौताको लिखत किमार्थ होइन। यो अतीतमुखी सत्तापक्षको विजय र क्षयन्मुखी एमाओवादीको आत्मसमर्पणको द्योतक हो। यसमा एमाओवादी आफ्नो वैचारिक निष्ठा, एजेन्डा, अडान र सम्मान सबै कुराबाट स्खलित भएको छ।

सोह्र बुँदेमा सहीछाप गर्नुअघि र त्यसपछिको एमाओवादी एउटै होइन। यो सहीछापसँगै एमाओवादीले प्रतिपक्षको मैदान त्याग्यो, आफ्ना एजेन्डा त्याग्यो, सहयात्री राजनीतिक दलहरूलाई त्याग्यो, मुक्तिकामी जनतालाई त्याग्यो, निष्कामकर्मी बौद्धिकहरूलाई त्याग्यो। यो पश्चगामी त्याग सिरियलमा पुष्पकमलले आफ्नो निर्वाचनक्षेत्र समेत त्यागिदिए। यसरी त्यागी एमाओवादी सनातनी सत्तापक्षको अङ्ग, अनुचर र सेवक बन्न पुग्यो।

एमाओवादीको यो आत्मसमर्पणको रचनागर्भ बडो रहस्यमय छ। दुई–ढाई महिनाअघि पुष्पकमलको अगुवाइमा प्रतिपक्षी मोर्चाले एमाले प्रमुख केपी शर्मा ओलीलाई पागल घोषित गरेको थियो। त्यो पनि कतै यसै बोल्ने क्रममा हाडबिनाको जिब्रो चिप्लिएर होइन। बकाइदा बैठक बसेर, विधिवत् निर्णय गरेर, लिखितम धस्काएर। र ओली महोदयको मानसिक उपचार गरियोस् भनी मोर्चाले सरकारसामु लिखित अनुरोध पेस गरेको थियो। थाहा छैन, कुन दिव्य चमत्कार, कुन फुमन्तर जादुगरी वा कुन निहित स्वार्थवश हो, पुष्पकमलका दृष्टिमा हिजोको आजै ओली महोदय सद्दे, स्वस्थ, विवेकवान र करुणामयी बन्न पुगे। अनि पुष्प र केपीबीच बिछट्टको राजनीतिक प्रणयलीला सुरु भयो। यी दुई नवोदित प्रेमीबीच घन्टौँ लामा अनेक गोप्य वार्ता भए। ती वार्ताबारे प्रतिपक्षका सहयात्री महन्थ, उपेन्द्र र अशोक बेखबर थिए। सायद पुष्पको आफ्नै दलका निकटतम सहयोगी कमरेडहरूलाई पनि यस कुराको थाहापत्तो थिएन। परिवर्तनका एजेन्डामा सहयोग गर्ने बौद्धिकहरू त आखिर ‘प्रयोग गर र मिल्काउ’को महलका प्राणी न ठहरिए। राजनीतिमा विश्वास, इमान र नैतिकता भन्ने केही चिज हुन्छ? पुष्पकमलको एकल क्रीडाको नतिजाले भन्यो— हुँदैन।

पुष्प–केपीको प्रणयलीलाले साकार रूप लिँदा सोह्र बुँदेको जन्म भयो। के हो यो सोह्रबुँदे? सोह्र बुँदेको सतहमा तीन तत्त्वको योग छ। छिटो संविधान, दह्रो राष्ट्रिय एकता र मिलिजुली पुनर्निर्माण। तर यसको अन्तर्यमा गुह्य कुरो अर्कै छ। त्यो हो, छिटो पश्चगामी संविधान र संविधानरूपी भर्‍याङ चढेर छिटो सत्ता भागबन्डाको भोगचलन। नभन्दै चार महाबलीको तरङ्गी एवं स्वेच्छाचारी योजना मुताबिक संविधानको खेस्रा हत्तपत्त आयो। खेस्रामा के देखियो? अन्तरिम संविधानले दिएका उत्पीडितहरूका हकहरूको अन्धाधुन्द हरण भएको देखियो। आक्रोशमय विरोधबीच सुझाव सङ्कलनको नाटक रचियो। सुझावमा जे चार महाबलीको स्वार्थ सहुाउँदो देखियो, त्यसलाई सप्रेम ग्रहण गरियो। जे त्यस्तो देखिएन, त्यसलाई आरामसाथ रद्दीको टोकरीमा मिल्काइयो। प्रत्यक्ष निर्वाचित कार्यकारी— बदर। अन्तरिम संविधानमा लेखिएको समावेशी–समानुपातिक— बदर। दलितलाई जमिन, छात्रवृत्ति, आरक्षण आदि— सबै बदर। अनि सदर के? खाइपाइ आएका संविधानका कर्ताहरूका सनातनी एकाधिकारहरू— सदर। आश्चर्य के भने यो बदर र सदरमा पुष्पकमल र बाबुराम बर्चस्वशाली वीरहरूका आज्ञापालक सेवकको भूमिकामा कटिबद्ध भए।

चौतर्फी दबाबपछि जब सीमाङ्कन आयो, सोह्रबुँदे यथार्थको अर्को अनुहार उजागर भयो। सीमाङ्कनमा संविधानका बर्चस्वशाली महारथीहरूका निहित स्वार्थको अनुकूलताको टड्कारो चित्र खिचियो। आफ्ना हात जगन्नाथ। सीमाङ्कनमा न उत्पीडितहरूको पहिचानको झल्को आयो, नत प्रदेशहरूबीच सामथ्र्यको उचित वितवरण नै दृष्टिगोचर भयो। प्रदेशहरू केन्द्रका मालिकका कठपुतलीको औतारमा प्रकट भए। माथिका ख्वामित्ले शाही टिके शैलीमा मनोनयन गर्ने र आफ्नो स्वार्थअनुसार नचले तिनलाई कुनै पनि बेला झ्याप्प विघटन गर्ने। सीमाङ्कनको चित्त हेर्दै एउटा प्रहसन प्रस्तुत भयो। यो अखण्ड सिरियल प्रहसन हो। जो—जो संविधान लेखनका कर्ता हुन्, नेपथ्यमा यो प्रहसनका निर्देशक पनि उनै—उनै हुन्। लाग्छ, यो प्रहसन संघीयताको गलो निमोठ्ने नियोजित खेलतमासा हो।

प्रदेशको संख्या तोकाइ र सीमाङ्कनमा उत्पीडित दाबेदारका प्रतिनिधिहरूलाई कहीँ कतै एक वचन सोधनी–पुछनी गरिएन। संविधान लेख्ने कलम जसका हातमा थियो, तिनले आफूलाई दिने मालिक ठाने। र उत्पीडित दाबेदारहरूलाई तिनले माग्ने अकिञ्चनको दर्जामा राखे। लोकलाई सम्झना छ, अस्ति राणाहरू यसै गर्थे, हिजो शाहहरू यसै गर्थे। यी सनातनी संविधान लेखकहरूले जसो—जसो सामन्ती गुरुजी उसै—उसै दमनकारी चेलाचपेटा भनेझैँ गरे। आश्चर्य, स्वेच्छाचारी मालिकहरूका यी कर्ममा एमाओवादी पुष्पकमल र बाबुरामको पनि दह्रो हात र सक्रिय साथ छ।

प्रदेश तोकाइमा दिने मालिकहरूको चातुर्यको झलक पाइन्छ। उत्पीडित समुदायहरूमध्ये जो अपेक्षाकृत बलिया छन्, मालिकहरूले तिनलाई केही दिएजस्तो गरे। जो कमजोर छन्, तिनले के नै पो नाप्लान् र भनेर होला, यिनले केही नै दिएनन्। यसरी नदिइनेमा खास गरेर दलित र थारुहरू परेका छन्। माओवादी जनयुद्धका प्रथम सहिद दलित थिए। जनयुद्धमा जनसंख्याको अनुपातमा सबैभन्दा धेरै ज्यानको आहुति दिने यिनै दलित र थारु समुदाय हुन्। वास्तवमा माओवादी जनयुद्ध मूलत: यिनकै रगत र आँसुको वेदीबाट उठेको हो भने पनि हुन्छ। विडम्बनावश, सोह्रबुँदे चौतारीमा उभिएर संविधान लेख्ने कलम हातमा लिएका पुष्पकमल र बाबुरामले दलित र थारुहरूका छाती—छातीमा रगत र आँसुका अक्षरले लेखिएको यो अमिट इतिहास हिजोको आजै बिर्से। दलित र थारुहरू तल सडकमा चिच्याइरहेका छन्, पुष्पकमल र बाबुराम माथि निरङ्कुश सत्ताको बुर्जाको एक कुनामा बसेर मानौँ सुमधुर सङ्गीत सुनेझैँ त्यो चित्कार सुनिरहेका छन्।

सोह्रबुँदे शासक महलको चर्तिकला यस्तो छ, तर हामीले भएको कुरा देख्नु र देखेको कुरा बोल्नु हुँदैन। प्रदेश रचनामा खोटैखोट छन्, प्रदेशहरूको सीमाङ्कन मिस्टर ठिसको कलाकृतिजस्तो छ। तर जे यथार्थ हो, त्यो त्यही नै हो भन्दा हामीलाई संविधान बन्न नदिने तत्त्व भनी फत्तुर लगाइन्छ। नागरिकहरूका मुख थुनेर तिनका शिरमा पश्चगामी संविधान थोपर्न भयका विम्बहरू रचिँदैछन्। सोह्र बुँदेका रचनाकारहरू भन्छन्— प्राप्त उपलव्धिहरू पश्चगामी तत्त्वबाट जोगाउन चाहियो छिटो संविधान। को हो, यो पश्चगामी तत्त्व? पूर्वराजा ज्ञानेन्द्र? ज्ञानेन्द्रका अनन्य सेवक कमल थापा? कि ‘साक्षत् भगवान’ कमलनयनाचार्य? खेस्रा संविधान आफैँ पश्चगमनको मुखर दस्तावेज हो। भन्देखिन् अस्पष्ट र अपुष्ट पश्चगामीबारे यो रटना किन?

खान्दानी खलकको संविधानसँग असहमत हुने र आफ्नो फरक मत मिडिया वा सडकमा व्यक्त गर्नेहरूलाई सोह्रबुँदे महलका गुरुजीहरू संविधान बन्न नदिने भँडुवा भन्छन्।

यसको अर्थ हो, दलितहरू भँडुवा हुन्। थारुहरू भँडुवा हुन्। मधेसीहरू भँडुवा हुन्। समस्त जनजातिहरू भँडुवा हुन्। कर्णालीवासीहरू भँडुवा हुन्। आश्चर्य, यसरी आरोप लगाउनेहरूको लाममा पुष्पकमल र बाबुराम पनि हाजिर छन्। यी को थिए, यी के भए? कान्तिपुरबाट

 

याे पनि पढ्नुहाेस

१६ बुँदेपछि प्रचण्ड युगको पूरै अवसान