images

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

काठमाडौं, १९ मंसिर । निर्वाचनको समीक्षा र आगामी यात्राका बारेमा छलफल गर्न आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बोलाइएको बैठकमा निर्वाचनको परिणामबारे समीक्षा हुने र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल हुने बताइएको छ । गठबन्धनका एक नेताले निर्वाचनको समीक्षा गरेर मात्र नयाँ सरकार गठनको छलफल हुने बताए ।

गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेर चुनाव लडेका थिए । निर्वाचनपछि गठबन्धनको संयुक्त बैठक पहिलो पटक बस्न लागेको हो ।

मंसिर ४ को निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । कांग्रेसले प्रतिनिधि सभामा ५७ सिट जितेको छ । त्यसैगरी परिणामबाट तेस्रो दल बनेको माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेका छन् । प्रदेश सभामा प्राप्त सिट हेर्दा पनि सत्ता गठबन्धनले नै सरकार गठन गर्ने सम्भावना देखिन्छ ।

सत्तासीन दलहरू सम्मिलित गठबन्धनले बहुमत नजिक सिट ल्याए पनि अपेक्षित परिणाम ल्याउन सकेनन् । धेरै ठाउँमा गठबन्धनका नेताहरुले नै पराजय व्यहोर्नुपरेपछि गठबन्धनभित्र केही असन्तुष्टि देखिएको छ ।