images

१६ हजार नेपाली कामदार मलेसियाबाट फर्किए, अझै ४०६ नेपाली मलेसियाका जेल र फिर्तीकेन्द्रमा

काठमाडाैं । मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरुलाई दिएको समयावधि भोलि आइतबार सकिँदैछ । उसले गत फेब्रुवरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहाइरिंङ) कार्यक्रमसँगै स्वदेश फिर्नका लागि समेत यही डिसेम्बर ३१ सम्मको अवधि ताकेको थियो ।

स्वदेश फर्कनका लागि आइतबारसम्म तोकिएको उक्त कार्यक्रमको लाभ उठाउँदै यसवर्ष करिब १६ हजार गैर कानुनी हैसियतका नेपाली स्वदेश फर्किएका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया आएपछि विभिन्न कारण गैरकानुनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएका नेपाली दूतावासले जनाएको छ।

दूतावासको तथ्यांकअनुसार यसवर्ष उक्त संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो। गैरकानुनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ। त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्ने प्रावधान छ।

ती बाहेक आफूसँग भिसा नभएको तर राहदानी भएकाहरुले भने यात्रा अनुमतिपत्र लिनुपर्दैन। उनीहरुले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट व्यवस्था मिलाई नेपाल फर्कन सक्छन्।

मलेसियाली सरकारले गैरकानुनी कामदारलाई वैधानिकता दिने प्रक्रियामा सामेल गराई पुन: रोजगारी दिन यसअघि ‘रिहाइरिंङ’ नामक कार्यक्रम ल्याएको थियो। उसले मुलुकमा रहेका गैरकानुनी कामदार घटाउन स्वदेश फर्कने या वैधानिकता प्रक्रियामा सामेल भई काम गर्ने ऐच्छिक अवसर दिएको थियो। उक्त कार्यक्रमको लाभ उठाउँदै हजारौं नेपाली स्वदेश फिरिसकेका छन्।

मलेसियाली सरकारले आफूकहाँ रहेका गैरकानुनी आप्रवासी कामदार घटाउन गत सन् २०११ अगष्ट महिनादेखि नै गैरकानुनी कामदार हटाउने अभियान चलाएको मलेसियाले गत ६ वर्षमा आममाफी, वैधानिकीकरण, पुन: रोजगारी लगायतका आधादर्जन अवसरयुक्त कार्यक्रम सञ्चालन गरिसकेको छ। यद्यपी अपेक्षित रुपमा त्यस्ता कामदारको संख्या घट्न नसकेकाले उसले त्यस्ता कामदारविरुद्ध खोजी अभियानसमेत सँगसँगै चलाउँदै आइरहेको छ।

यसवर्ष घर फिर्ने नेपालीहरुबाट दूतावासले साढे ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ। उसले प्रत्येक गैरकानुनी कामदारका लागि यात्रा अनुमतिपत्र जारी गरेबापत १६० रिंगिट शुल्क लिँदै आएको छ। मलेसियामा करिब ४ लाख नेपाली वैधानिक रुपमा कार्यरत रहेको ठानिएको छ। बधानिक रुपमा करिब २० लाख आप्रवासी कामदार कार्यरत रहेको भनिएको यहाँ अझै लाखौं आप्रवासी गैरकानुनी हैसियतमा रहेका हुनसक्ने बताइन्छ।

मलेसियाबाट यसवर्ष एकहजार ४० जना नेपालीको उद्दार गरिएको छ। नेपाली दूतावासको तथ्यांकअनुसार यसैवर्ष (सन् २०१७) ती नेपालीहरुको उद्दार गरिएको हो। उनीहरु घरफिर्ती हवाईटिकट अभावमा मलेसियाका फिर्तीकेन्द्रहरुमा अलपत्र अवस्थामा रहेका थिए। दूतावासले तीमध्ये अधिकांश नेपालीहरुलाई सरकारी आर्थिक सहयोग र निजी विभिन्न संघसंस्था एवं कम्पनीहरुको सहयोगमा उद्धार गरेको हो।

उद्धार गरि फर्काइएकाहरुमाथि चोरी, झैझगडा र गैरकानुनी अवस्थामा बसेको लगायतका विभिन्न अभियोगहरु लगाइएको थियो। पक्राउ परेपछि त्यस्ता विभिन्न अभियोग खेपेका उनीहरुलाई कानुनी प्रावधानअनुसार सजाय भुक्तान गरेपछि फिर्तीकेन्द्रमा राखीएको थियो। मलेसियामा जेल सजाय कटाइसकेपछि फिर्तीकेन्द्रमा सार्ने गरिन्छ। फिर्ती केन्द्रबाट उनीहरु हवाई टिकट र आवयश्क यात्राअनुमति पत्रको व्यवस्था मिलाएर स्वदेश फिर्न सक्छन्। नेपाली दूतावासले त्यसरी फिर्नेहरुका लागि निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गर्ने गर्दछ।

दूतावासले फिर्तीकेन्द्रमा रहेका उनीहरुको विभिन्न निकाय एवं संघ संस्थाको आर्थिक सहयोगमा उनीहरुलाई हवाईटिकटको व्यवस्था मिलाई स्वदेश फर्काउँदै बताएको छ। फिर्तीकेन्द्रमा सारिएपछि कतिपय नेपालीहरु आफ्ना परिवार, साथीभाई एवं नातेदारहरुको सहयोग र सक्रियतामा समेत फर्केका छन्।

नेपाली दूतावासका अनुसार गत महिना नोभेम्बर सम्मको तथ्यांकअनुसार मलेसियाका विभिन्न जेलमा २०६ जना नेपाली विभिन्न अभियोगमा जेलमा सजाय भोगिरहेका छन्। त्यसबाहेक फिर्तीकेन्द्रमा २ सय नेपाली फिर्ती केन्द्रमा हवाई टिकटको पर्खाईमा छन्।

दूतावासका अधिकारीहरुका अनुसार मलेसियाका फिर्तीकेन्द्रमा रहेका नेपालीहरुको उद्धार गर्न वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले करिब ६० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो। त्यसबाहेक फिर्ती केन्द्रका नेपालीको उद्धारका लागि मलेसियामा रहेका विभिन्न नेपाली संघसंस्था, व्यक्ति, एवं स्थानीय कम्पनीहरुले समेत हवाइटिकटका लागि आर्थिक सहयोग गरेका थिए।