images

स्ववियु निर्वाचन: ६० प्रतिशत मत खस्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ ।

त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरूमा ५५ देखि ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरणले देखाएको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्याक पशुपति अधिकारीले निकै उत्साहजनक रूपमा मतदान सम्पन्न भएको बताए ।

कहि कतै कुनै अप्रिय घटना नभइकन निर्वाचन सम्पन्न भएको भनाई छ । केही स्थानहरूमा निर्वाचन प्रक्रिया रोकिएको तर, केही दिनभित्रमा सम्पन्न हुने उनको भनाई छ ।

स्ववियु इतिहासमा पहिलो पटक शान्तिपूर्ण वातावरण स्ववियु निर्वाचन सम्पन्न भएको निर्देशक अधिकारीले बताए ।

काठमाडौँ उपत्यकाका केही क्याम्पसहरूमा भने अनेपक्षित मतदान भएको छ । शंकरदेव क्याम्पसमा ३५ प्रतिशत मात्रै मत खसेको छ । त्यस्तै थापाथली, नेपाल ल क्याम्पस, पुल्चोक इन्जिनियरिङ क्याम्पस लगायतका उपत्यकाका नाम चलेका क्याम्पसमा भने अनेपक्षित रूपमा मत खसेको छ ।

ती क्याम्पसहरूमा निकै कम मत खसेको हो । आंगिक बाहेक धेरै जसो सम्बन्धन प्राप्त क्याम्पसहरूमा समेत निर्वाचन सम्पन्न भएको छ । कतिपय स्थानको मत परिणाम समेत सार्वजनिक भइसकेको छ ।

मतदान सम्पन्न भएका क्याम्पसहरूमा सर्वदलीय बैठक बसेर मत गणनाको कार्य थालनी गरिनेछ । त्रिविका विभिन्न ४ वटा क्याम्पसहरूमा भने विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गरिएको छ ।