images

चैत १२ गतेभित्र स्ववियू निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्ववियू निर्वाचन स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र गर्न निर्देशन दिएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका हुन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

बास्कोटाले केही क्याम्पसमा विद्यार्थी संगठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे पनि अधिकांश क्याम्पसमा शान्तिपूर्णरूपमा सम्पन्न भएको बताए । देशभरि नै त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार स्ववियु निर्वाचन भएको थियो ।

६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन रोकिएको छ । उपत्यकामा त्रिचन्द्र आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कर्मश क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ ।

यस्तै सबभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ ।