images

होटल व्यवसायीका समस्या समाधान नगरे व्यवसाय बन्द गर्ने हानको चेतावनी

काठमाडौं । होटल संघ नेपालले होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ ।

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै हानले बिग्रँदो अर्थतन्त्रसँगै मुलुकको होटल क्षेत्र धरासायी बनेको भन्दै व्यवसायीहरुको समस्या समाधानको लागि सरकारले पहल नगरेर होटल बन्द गर्ने चेतावनी दिएको हो । हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको सामाधानको लागि पहल नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

हानका प्रथम उपाध्यक्ष विनायक साहले बैंक तथा वित्तीय संस्थाहरुबाट होटल व्यवसाय प्रवद्र्धन र विकासका लागि प्रवाह भएका ऋणका साँवा व्याज भुक्तानीमा थेग्नै नसकिने अवस्था आएको बताए ।

त्यस्तै संघका अध्यक्ष सिर्जना राणाले सरकारले बनाउने नीति नियमले होटल क्षेत्रलाई उपेक्षा गरेको बताइन् । उनले सरकारले कोरोना महामारीको कारण थला परेको होटल क्षेत्रमैत्री नीति नबनाउँदा होटल व्यवसाय घाटामा सञ्चालन गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारिन् ।

उनले होटलहरुको संरक्षणको लागि बढी भन्दा बढी विदेशी पर्यटक ल्याउन आवश्यक रहेको उल्लेख गरिन् ।