images

आज विश्व क्षयरोग दिवस, नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौं । आज मार्च २४ तारिख अर्थात, विश्व क्षयरोग दिवस । नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरि क्षयरोग दिवस मनाइँदैछ ।

“हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने नारासहित क्षयरोग दिवस मनाइदैछ ।

नेपालमा वर्षेनी नयाँ क्षयरोगका ६९ हजार बिरामी भेटिने गरेका छन् ।

हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अझै वार्षिक करिब ३२ हजार क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेका छन् ।

सामाजिक लाञ्छना भेदभावको भयका कारण ठूलो संख्यामा क्षयरोगी उपचारमा नआउने चिकित्सकहरू बताउँछन् । नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या करिब दुई हजार आठ सय रहेको छ ।

यो संख्या नेपालको कूल जनसंख्याको अनुपातमा अन्त्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ ।

केन्द्रका अनुसार आ.व. २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा नौ सय ४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने छ सय ५९ जना मात्र उपचारमा थिए ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरि ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी एक करोड छ लाख मानिस क्षयरोगबाट ग्रसित हुने गरेका छन् । सन् २०२१ मा करिब १६ लाखको क्षयरोगका कारण विश्वभरि मृत्यु भएको थियो ।